३० आश्विन २०८१, बुधबार । October 16, 2024

समाचार

सत्ताधारी पार्टी भारदारी वर्गको भ्रष्ट स्वार्थमा केन्द्रित हुन थाल्यो : डा. लोहनी



कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भएबाट आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने दावी पूर्ण रुपमा गलत साबित भएको बताएका छन् ।

‘राजनीति मुद्दा समाधान भयो, अब आर्थिक समृद्धिको युग आरम्भ हुन्छ भनेर तीन वर्ष अगाडि भनिएको थियो । तर वर्तमान अवस्था त्यसको ठिक विपरीत छ,’ राप्रपा अध्यक्ष लोहनीले भने ।

शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरे । ‘भनाइमा जनताको हितको नारा भए पनि सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको छ,’ उनले भने ।

‘भनाइमा राष्ट्रियताको कुरा छ, तर गराइ लम्पसारवाद उन्मुख छ । भनाइ भ्रष्टाचार विरोधी छ, व्यवहार भ्रष्टाचारलाई संरक्षण गर्ने छ । नारा निष्पक्ष प्रशासनको छ, गराइ हरेक तहमा पार्टीगत भागवण्डा हावी छ । संविधान संरक्षणको आदर्श छाटिन्छ तर ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ । नारा प्रजातन्त्रको छ, व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख रहेको छ ।’

राप्रपाले बोकेको लोकप्रिय एजेण्डा, संविधान भित्रको राजसंस्था र सर्वधर्म समभावसहित नेपाली पहिचान कायम राख्ने हिन्दूराष्ट्रको साथर्कता पहिले भन्दा पनि जरुरी भएको उनले बताए ।

संविधानमा कतै नभएको धारा प्रयोग गरि जनप्रतिनिधिमुलुक संस्था विघटन गरेपनि यसको अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने उनले बताए । उक्त फैसलाले राजनीतिक रुपमा बन्धक रहेको अवस्थावाट मुलकले पार पाउने समेत लोहनीले बताए ।

सभालाई राप्रपाका केन्द्रीय नेताहरु धु्रब रायमाझी, कृष्ण चौधरी, इद्रिस मुसलमान, खनिज फतेम, जनक पाठक लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ००:००