१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

ताजा जनादेशका लागि निर्वाचनमा जानु बाध्यता : मुख्यमन्त्री राई


७ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन्।

प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उनले मुलुकलाई बन्धक बनाउने र अस्थिरतातर्फ धकेल्ने क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको बाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे।

उनले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह गर्दै विभिन्न राजनीतिक दल आफ्ना किसिममा तयारीमा लागेको बताए।

उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई संस्थागत बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिँदै संगठनकोे भेलाबाट गरिने योजनालाई प्रदेश सरकारले जोडेर लैजाने विश्वास दिलाए।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पार्टी विधानविपरित प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव आएको जनाउँदै पार्टी संसदीय विधानअनुसार सदस्यलाई स्पष्टिकरण सोधिएकोमा चित्त बुझ्दो स्पष्टिकरण नआएकोले निलम्वन गरेकोमा त्यो वैधानिक रहेको प्रष्ट पारे।

उनले प्रदेश सरकारले सञ्चारकर्मीको विकासका लागि नीति लिएको चर्चा गर्दै उनीहरुको दक्षता वृद्धि बनाउन सञ्चार ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का प्रदेशका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले कानून मिचेर प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएको जनाउँदै सर्वोच्च अदालत र निर्वाचन आयोग निर्णय नभएसम्म प्रदेशसभा स्थगित रहने जानकारी दिएका छन्।

नेकपा प्रदेश–१ अध्यक्ष देवराज घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष बिक्रम लुइटेल, संगठनका प्रदेश इन्चार्ज लीलाराज भट्टराई, वरिष्ठ पत्रकार किशोर कार्की र सिद्धराज राईले भेलाले संगठन विस्तारमा योगदान पुग्ने बताए।

भेलामा १४ जिल्लाका संगठनका सदस्यको सहभागिता रहेको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००