१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

शिक्षक राजेन्द्र श्रेष्ठ हत्याकाण्डमा विप्लव पनि प्रतिवादी, आजदेखि थुनछेक बहस


४ फाल्गुन २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं। मोरङको मिक्म्लाजुङ गाउँपालिका वडा नम्बर – १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या प्रकरणमा मुछिएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, सहित ४१ जनाविरुद्ध दायर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा आज थुनछेक बहस हुँदैछ।

जिल्ला अदालत मोरङमा थुनछेक बहस हुने भएको जिल्ला सरकारी वकिल कार्यालय मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए।

हिजो मात्रै प्रहरीले गरेको श्रेष्ठको हत्या घटनासँग सम्बन्धी प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले अदालतमा विप्लवसहित ४१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

श्रेष्ठको हत्या गत मंसिर २१ गते घर नजिककैको जंगलमा भएको थियो। विप्लवका ६ जना कार्यकर्ताले घरदेखि नै अपहरण गरी लगेर घाँटी रेटी हत्या गरेको प्रहरीको निष्कर्ष छ।

उक्त घटनापछि विप्लव नेतृत्वको नेकपाले घटनाको जिम्मा लिएको थियो। र, पार्टीविरुद्ध श्रेष्ठले सुराक गरेको आरोप लगाएको छ।

हालसम्म उक्त घटनामा एक जना पक्राउ परेका छन्। उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको प्रहरीले जनाएको छ।

घटना विप्लवको निर्देशन र जितेन्द्र महाराको परिचालनमा भएको प्रहरीको दावी छ।

सोही अनुसार प्रहरीले विप्लवलाई पनि घटनामा मुछेर उनीविरुद्ध पनि मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००