३० आश्विन २०८१, बुधबार । October 17, 2024

Uncategorized

पोखरा–सिक्लेस जोड्ने मोटरेबलपुलको भौतिकमन्त्री नेम्बाङद्वारा उद्घाटन



पोखरा २६ माघ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले पोखरा – सिक्लेस जोड्ने मोटरेबल पुलको उद्घाटन गरेका छन्।

काहुँ खोला – दूधपोखरी सडकको पोखरा विययपुर खोलामा निर्माण सम्पन्न भएको पुल सोमबार उद्घाटन गरेका हुन्।

उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले “समृद्ध नेपाल, सुखी नेपाली” निर्माण गर्न दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण गरी अगाडि बढाउन खोजिएपनि बीचैमा धोका भएको बताए।

“सत्तरी वर्षको कम्युनिस्ट आन्दोलनमा इतिहासकै ठूलो पार्टी निर्माण भई करिब दुई तिहाई बहुमतका साथ सरकार गठन भइ जनताको पक्षमा धमाधम काम भइरहेको बेला केही नेताहरूबाट धोका भयो र आफ्नै सांसदहरूबाट संसदमा विरोध गर्ने काम भयो”, मन्त्री नेम्बाङले बताए।

उनले वर्तमान सरकार जनताको सामाजिक सुरक्षामा प्रतिवद्ध रहेको भन्दै यस बर्ष मात्र डेढलाख फुसको छाना विस्थापन गर्न लागिएको र आगामी तीन वर्षभित्र सबै फुसको छाना हटाइ सक्ने सरकारको योजना रहेको उल्लेख गरे।

उनले सरकारले अहिले ठूलाठूला भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाएको बताए।

जसअन्तर्गत सुरुङमार्ग,पूर्व–पश्चिम विद्युतीय रेल तथा उत्तर – दक्षिण रेलमार्गको कामलाई तीब्रता दिएका बताए।

उनले प्रधानमन्त्री ओलीलाई चारैतिरबाट घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद विघटन बाध्यत्मक रहेको भन्दै सरकारको प्रतिरक्षा गरे।

“आफ्नै पार्टीका नेताहरूले हातखुट्टा बाँध्ने षड्यन्त्र गरेकाले अन्त कतै पुनरावेदन गर्ने ठाउँ नभएकाले प्रधानमन्त्री ओलीले सबैभन्दा शक्तिशाली जनअदालतमा जाने निर्णय लिनुभयो” नेम्बाङले बताए।

उनले प्रधानमन्त्री ओली नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारीक अध्यक्ष रहेको र उनले नेतृत्व गरेको नेकपा नै संस्थाापन भएकाले कोही भ्रममा नपर्न समेत आग्रह गरेका छन्।

सोमबार उद्घाटन गरिएको पुल ५ करोड ७५ लाख २९ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।

यस पुलको लम्बाई ५४ दशमलव १७ मिटर रहेको छ । दुई स्पानको यो पुल २०७५ सालमानिर्माण सुरु भएको थियो ।

सम्झौता समयमै निर्माण सम्पन्न गरेकोका रायमाझी, द क्याराभान जेभीलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो । पुलपोखरा १३ र मादीगाउँपालिका वडा ५ को संगम स्थालमा रहेको छ ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००