२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

बागलुङमा पुनः हात्तीपाइलेको जीवाणु फेला


१३ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, १३ माघ ।  बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ ।

हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ ।

चौथो पटकको नमूना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिएका छन् । नारायणस्थानमा ३०० र कुश्मिसेरामा ३०० जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो । दुवै स्थानमा हात्तीपाइलेको जीवाणु फेला परेसँगै यो वर्ष १२ औँ पटक र आगामी वर्ष १३ औँ पटकको अभियान जिल्लाभर चलाउनु पर्ने देखिएको गुरौँको भनाइ रहेको छ ।

हात्तीपाइले रोगबाट बच्न सामान्यतया लगातार छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ तर बागलुङमा १३ औँ पटकसम्म अभियान चलाउनपर्ने भएको हो । नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुपरभाइजर सरोज अधिकारीले बताएका छन् ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००