३ कार्तिक २०८१, शनिबार । October 19, 2024

Breaking

प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिए


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिकामा नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो । उहाँलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताएका छन् ।

शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको बताइएको छ ।

प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक डीएसपी ध्रुवकुमार श्रेष्ठले बताएका छन् ।जिल्लाबाट प्रहरी निरीक्षक इन्स्पेक्टर कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि अहिले स्थिति नियन्त्रणतर्फ छ । झडपमा एक प्रहरी सहायक निरीक्षक असई एक जना सशस्त्र प्रहरीका एक जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएको बताइएको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००