२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

सर्वदलीय वैठकको नाममा कानून विपरीत गरिएका निर्णय खारेज



सर्वदलीय वैठकको नाममा कानून विपरीत गरिएका निर्णय खारेज गरी निर्वाचनको स्वच्छता कायम राख्ने सम्बन्धी निर्देशन
सम्वत् २०८० साल वैशाख १० गते आईतबार बारा जिल्ला निर्वाचन क्षेत्र नं। २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं। २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भई उक्त दिनमा बिहान ७।०० बजे देखि साँझ ५।०० बजेसम्म मतदान गर्न सक्ने व्यवस्था सम्वन्धमा निर्देशन भई सकेको छ ।

बारा जिल्ला क्षेत्र नं। २ को देवताल गाँउपालिका वडा नं। २ स्थित सिंचाई अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र क र ख मा मतदान अधिकृत सहितको सर्वदलीय÷सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानून विपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनौट गर्ने जस्ता निर्णयहरु प्रति आयोगको गंभीर ध्यानाकर्षण भएको छ । यस सम्वन्धमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ को दफा ११ मा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार, दफा २१ मा मतदान केन्द्रमा पुगेपछि सर्वदलीय वैठक राख्ने, दफा ३९ मा मतदान गर्ने समय, दफा ५० मा मतदान गर्दा प्राथमिकता दिने र दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने विषयका सम्बन्धमा स्पष्ट व्यवस्था छ । यसर्थ, निर्वाचन सम्वन्धी प्रचलित कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरितका यस्ता निर्णयहरु बदर गरी प्रचलित कानून बमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित बातावरणमा सम्पन्न गर्ने गराउने ब्यवस्था हुन मुख्य निर्वाचन अधिकृत मार्फत सबै मतदान अधिकृतहरुलाई आयोग निर्देशन गर्दछ । साथै, यस्ता प्रकृतिका निर्णयहरु उपनिर्वाचन हुने मतदान केन्द्रमा कहि कतै भए यसै निर्देशनलाई आधार मानी यस्ता निर्णयहरु बदर गरी प्रचलित निर्वाचन कानून बमोजिम गर्ने गराउने ब्यवस्था हुन समेत सूचित गरिन्छ ।

प्रचलित निर्वाचन कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरीत निर्णय गर्ने माथि उच्च निगरानीमा राखी कानून बमोजिम कारवाही गर्ने ब्यवस्था हुन समेत जानकारी गराइन्छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार ००:००