काठमाडौं, १२ असार । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँ स्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सब २०७९’ सुरु भएको छ ।
सो उत्सबको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सबको सँयुक्त उद्घाटन गरे ।
दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सब कोरोना महामारीका कारण बल्ल आफुहरुले आयोजना गर्न सकेको उत्सब संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताईन् । आईतबारबाट सुरु भएको यो उत्सब सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सब संयोजक शर्माले कार्यक्रममा जानकारी गराईन् ।
उत्सबको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सबले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्धत पु¥याउने बताए ।
उत्सबको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।
यो नाटकका मुख्य पात्रले आफु सपनामा स्वर्ग गएको रमाईलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरु मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरुले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भातभुँग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।
आईतबारबाट सुरु भएको यो उत्सब १८ असारसम्म जारी रहने छ । महोत्सबमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिने भएको छ । यस्तै मँगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहिबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ ।
आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सब गर्नुको उदेश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ ।
प्रतिक्रिया