२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

बार्सिलोना अंक बाड्न बाध्य


१५ भाद्र २०७६, आइतबार ००:००

0
Shares


एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । ओसासुनाको घरेलु मैदानमा बार्सिलोना २२ को बराबरीमा रोकिएसँगै अंक बाड्न बाध्य भएको छ । बराबरीको नतिजाले दुवै टोलीले एक–एक अंक बाडेका छन् ।
खेलको सातौं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो । रोबर्टो टोरेसले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा ब्रान्डन थोमसको क्रसलाई भलीमा गोल गरे । कप्तान लियोनेल मेसी, लुइस सुआरेज र ओस्मान डेम्बेलेविनाको बार्सिलोनाले पहिलो हाफमा उल्लेख्य आक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा भने बार्सिलोना खेलमा फर्कियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १६ वर्षीय अन्सु फातीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले ५१ औं मिनेटमा कार्लोस पेरेजको क्रसमा हेडर गोल गरेका थिए । यस गोलसँगै फाती बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी भए ।
खेलको ६४ औं मिनेटमा अर्का वैकल्पिक खेलाडी आर्थरले गोल गरे । पेरेजकै पासमा उनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै अग्रता दिलाए । तर, निर्धारित समयभन्दा १० मिनेटअघि ओसासुनाले पेनाल्टी मार्फत बराबरी गर्यो । टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस नतिजासँगै ३ खेलमा ४ अंक जोडेको बार्सिलोना अंक तालिकाको सातौं स्थानमा रहेको छ । ओसासुना भने ३ खेलमा ५ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित : १५ भाद्र २०७६, आइतबार ००:००