१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

गणित विषयलाई सहज बनाइनुपर्ने



काठमाडौँ, २५ असार । कक्षा ११ र १२ को गणित विषयलाई सहज तथा सरल बनाउनुपर्नेमा जोड दिइएको छ ।

गणित शिक्षा परिषद्ले यहाँ आज आयोजना गरेको ‘कक्षा ११ र १२ को गणित पाठ्यक्रम निर्माणसम्बन्धी सुझाव’ विषयक अन्तरक्रियामा सहभागिले गणित विषयलाई प्रयोगात्मक बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले कक्षा ११ र १२ लाई विद्यालयस्तरमा ल्याइएकाले अनिवार्य गणित विषयको पाठ्यक्रम बनाउन लागिएको र अगामी मंसिरसम्म तयार भइसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “धेरै विद्यार्थीका लागि गणित गाह्रो विषय हुने गरेकाले यसलाई सजिलो बनाई प्रयोगात्मक बनाइनुपर्छ, त्यसैअनुसार काम भइरहेको छ ।”

गणित शिक्षा परिषद्का महासचिव रमेशप्रसाद अवस्थीले सानो कक्षादेखि नै सबैभन्दा बढी समय दिने विषय गणित भए पनि धेरै विद्यार्थी यसमै अनुत्तीर्ण हुने गरेका बताउनुभयो ।

‘थोरै पढाऔँ, धेरै सिकाऔँ, पुस्तक होइन, विद्यार्थी पढाउँ’ नारा आत्मसात् गरेर नयाँ पाठ्यक्रम बन्नुपर्छ, धेरै विद्यार्थीलाई उत्तीर्ण गराउन विद्यार्थीको स्तरअनुसार अध्यापन गराइनुपर्ने र पाठ्यक्रम पनि सोहीअनुसार निर्माण गरिनुपर्नेमा महासचिव अवस्थीले जोड दिनुभयो ।

गणित विषयको पाठ्यक्रमअनुसारभन्दा गेसपेपर, गाइडजस्ता सहयोगी सामग्रीले विद्यार्थीको पढाई बिगारेकाले त्यसलाई न्यूनीकरण गरिनुपर्ने अन्तरक्रियामा जोड दिइएको थियो ।

सबैभन्दा धेरै ट्युसन पढ्ने विषय गणित भए पनि सानोदेखि ठूलो कक्षासम्म अन्य विषयको तुलनामा यसमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेकाले विद्यार्थी, अभिभावक, शिक्षक एवम् शिक्षासँग सम्बन्ध राख्नेका लागि चिन्ताको कारण बन्ने गरेको सहभागिको भनाइ थियो ।

प्रा डा प्रकाशमुनि बज्राचार्य र महासचिव अवस्थीले कार्यपत्र प्रस्तुत गर्दै अनिवार्य र ऐच्छिक गणित विषयमा कस्ता कस्ता विषयवस्तु राख्ने, पाठ्यक्रम संशोधन हुँदा थपिने र दोहोरिने भए विद्यार्थीमा पर्ने भार, हाल कक्षा ९ देखि १२ सम्म माध्यमिक तह मानिएकाले कक्षा ९ बाट ऐच्छिक गणित समावेश गर्नुको सान्दर्भिकता र पाठ्यपुस्तक अभ्यासमा एकैखालको धेरै हिसाब राख्नुको उपयुक्तताबारे पनि पुनःविचार गर्न सुझाव दिनुभएको थियो । रासस

प्रकाशित : २५ असार २०७४, आइतबार ००:००