काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको जनाएको छ।
आयोगका अनुसार टङ्कप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेका हुन्।
उनी बहिष्करणमा पर्नुको कारण भने दलित समुदायका मानिसले दिएको दही खाएको भनिएको छ।
आयोगका सचिव वेद भट्टराईसहित अधिकृतहरू संलग्न उच्चस्तरीय टोलीले आचार्यकै घरमा पुगेर विस्तृत जानकारी लिएपछि आयोगले आचार्य बहिष्करणमा परेको सार्वजनिक गरेको हो।
आयोगले अनुमगन गरेपछि जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जातीय भेदभावविरुद्धको अभियानमा संलग्न ज्येष्ठ नागरिकलाई समाजले गौरवको रूपमा लिनुपर्नेमा बहिष्कार गर्नु निन्दनीय छ।”
बहिष्कार गर्नेहरूलाई कारबाही गरी पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न जिल्ला प्रशासन कार्यालय खोटाङ र नगरपालिकालाई आयोगले पत्रसमेत लेखेको जनाएको छ।
जिल्ला समन्वय समिति खोटाङले २०७५ मा आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोजमा दलित समुदायका मानिसले दिएको दही आचार्यले खाएका थिए।
मानव अधिकारवादीहरूले आचार्यको कदमलाई सकारात्मक लिँदै गौरवको विषय भएको प्रतिक्रिया दिएका थिए।
प्रतिक्रिया