काठमाडौं। सरकारी वकिल कार्यालय मोरङले ३१ वर्षीय प्रवीन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको छ।
प्रहरीको प्रतिवेदनअनुसार कार्यालयले अभियोग दर्ता गराएको हो।
यसअघि भने पटकपटक कसूर प्रमाणित हुने सबुत प्रमाण नपुगेको भन्दै प्रहरीको प्रतिवेदनअनुसार आरोपीहरूविरुद्ध कार्यालय अभियोग दर्ता गर्न अस्वीकार गरेको थियो।
प्रहरीले थप सबुत प्रमाणसहित अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि सोको आधारमा कार्यालयले कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको हो।
घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालक जिल्लाकै उर्लाबारी नगरपालिका – ९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी रतुवामाई नगरपालिका– १० का २९ वर्षीय ‘रिकेश शिवा’ भन्ने मेहरमान दर्जीसँगै अन्य चारजनाविरुद्ध अभियोग दर्ता गराएको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले बताए।
राई र शिवा बाहेकका चार जना फरार छन्।
फरार चारजनामा प्रवीनकै साथीहरू उर्लावारी–६ का १९ वर्षीय सुदीप परियार, ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल र प्रवीनको शव भेटिएको घरधनी उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार आरोपी बनाएर कार्यालयले अभियोग दर्ता गराएको हो।
पक्राउ परेकामध्येका राई र शिवाको बयान हिजै सकिएकोले आज भने थुनछेक बहस हुने भएको छ।
गत पुस ५ गते प्रवीनको शव शंकास्पद अवस्थामा फेला परेको थियो। त्यसपछि पुसका २२ गते बुबा प्रेमले फरार भएकामध्येका राजेशविरुद्ध किटानी जाहेरी दिएका थिए।
तर, फरेन्सिक ल्याबको प्रतिवेदन आउन ढिला भएपछि २५ दिन हिरासतमा रहेका राजेश छुटेका थिए।
त्यसपछि आक्रोशित परिवार र आफन्तहरू गत आइतबार र सोमबार आन्दोलित भएका थिए।
प्रतिक्रिया