१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

मुख्य खबर

बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित



लन्डन, ७ साउन । बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिनुभएको छ । ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित हुनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिनु उहाँको पहिलो चुनौती रहेको छ । बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग्ग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अद्यापी छन् । यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् । अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिइसक्नु भएको छ । उहाँको स्थानमा ब्रेक्जिट पक्षधर कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि नेताद्वय बोरिस जोन्सन र जेरेमी हन्ट पार्टी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पार्टीको यस चुनावको नतिजा मंगलबार नै सार्वजनिक हुनेछ र दुबैमध्ये एक जना प्रधानमन्त्री बन्नुहुनेछ । लेबरल डेमोक्र्याटिक पार्टीको चुनावमा नेतृ स्वीनसनले एड ड्याभीलाई पराजित गर्नुभएको थियो । स्वीनसनले ४७ हजार ९९७ मत प्राप्त गर्नुभएको थियो भने ड्याभीले २८ हजार २१ मत प्राप्त गर्नुभएको थियो । स्वीनसनले पार्टीका निवर्तमान अध्यक्ष भिन्स केबलको उपप्रमुखका रुपमा दुई वर्षदेखि जिम्मेवारी सम्हाल्नु भएको थियो । पार्टी नेतृत्वमा चुनिएलगत्तै स्वीनसनले बोरिस जोन्सनको नेतृत्व असफल हुने दाबी गर्नुभयो ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलबार ००:००