कुकुरका विभिन्न प्रजातिमध्ये हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ । विश्वमा नै अन्य कुकुरभन्दा विशिष्ट स्वरको धनी मानिने भोटे कुकुर साहसीमात्र नभई इमान्दार साथै बलवान हुन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले त्यही भोटे कुकुर संरक्षणका लागि समुदायलाई अभिप्रेरित गर्ने गरी प्रयास थालेको हो ।
लोप हुँदै गएको भोटे कुकुर संरक्षण गर्ने योजनालाई वार्षिक नीति तथा कार्यक्रममासमेत समावेश गरी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ दुई लाख विनियोजनसमेत गरेको छ । अन्तर्राष्ट्रिय रुपमा नै रुचाइएको भोटे कुकुर लोप हुन थालेपछि संरक्षण योजना अघि सारिएको गाउँपालिकाका मुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । “भोटे कुकुर विश्वमा नै लोकप्रीय कुकुर हो, यो विशेष गरी अन्नपूर्ण गाउँपालिकाको दाङ्सिङ र घान्द्रुकमा पाइन्छ,” पौडेलले भने, “शक्तिशाली, निडर एवं आज्ञाकारी गुणयुक्त यस कुकुरको बजारमा माग उच्च छ ।”
नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मङ्गोलियामा पाइने यो जातको कुकुर ठूलो टाउको र अजङ्को जीउ हुने गरेको छ । यो रिसाहा र आक्रामक स्वभाव यस कुकुरको प्रमुख विषेषता हो । अति इमान्दार र बफादार स्वभावको हुने भएकाले भोटेकुकुर विश्वमै विशिष्ट रुपमा लिइने कुकुर विशेषज्ञ बताउँछन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिकभए पनि मागअनुसार पूर्ति हुन सकिरहेको छैन ।
नेपालबाहिर एउटै छाउरा÷छाउरीको कम्तीमा पनि एक हजार २०० अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर रहेको बताइएको छ ।
अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमका साथै बजेटमा संरक्षणको विषय उल्लेख गरेसँगै भोटेकुकुरले सञ्चारमाध्यममा चर्चा पाएपछि यसको माग अझै बढेको स्थानीयवासी बताउँछन् । सामान्यतः अन्य कुकुरले मासु खाने भए पनि यो कुकुरले भने मासु नभई कोदाको खोले खाने गरेको स्थानीयवासी बताउँछन् । बजार माग बढेसँगै सामुदायिक रुपमा नै भोटे कुकुरको उत्पादन बढाउने सोचका साथ समूहगत उत्पादनलाई प्रोत्साहित गरिने अधिकृत पौडेलले जानकारी दिए । यही साउन महीनादेखि नै उत्पादन केन्द्रित भई अनुदान सहयोग एवं प्रोत्साहनमूलक कार्यक्रम पनि गाउँपालिकाले थालेको छ ।
पछिल्ला दिनमा अन्नपूर्ण क्षेत्रमा भोटे कुकुरका छाउरा रु ५० हजारदेखि एक लाखसम्ममा किन्ने गरी माग आउने गरेको पौडेलले जानकारी दिनुभयो । उत्पादन बढाएसँगै यसले स्थानीवासीको आयआर्जनमा समेत महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।
अन्नपूर्ण क्षेत्रमा पहिले पहिले ठूलो सङ्ख्यामा भोटे कुकुर पाइने गरे पनि पछिल्ला वर्षमा हराउँदै गएको गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । विशेष गरी लेकाली क्षेत्रमा भेडी गोठ एवं पशु चौपायाको संरक्षणका लागि पुस्तौँ अघिदेखि भोटे कुकुर पाल्ने गरिएको हो ।
“भोटे कुकुर सामान्यतः बाघ, चितुवालगायतका जङ्गली जनाबरसँग पनि डराउँदैन”, उहाँले भन्नुभयो, “यिनै कुकुरले भेडी गोठमा पालिएका भेडा दिनभर खर्कमा र रातमा गोठमा हेरचाह गर्ने गर्दछन् ।” शरीर पनि ठूलो हुने लडाकू स्वभावको भोटे कुकुरको जस्तो आवाज विश्वका अन्य कुनै पनि जातका कुकुरमा नपाइने बताइन्छ ।
सामान्य तालीमका भरमा पनि ठूला जिम्मेवारी बहन गर्ने भएकाले भोटे कुकुरलाई बौद्धिक रुपमा पनि राम्रो मानिन्छ । हिमाली क्षेत्रमा अत्यधिक हिउँ परेका ठाउँमासमेत जान सक्ने यस कुकुरको संरक्षणलाई गाउँपालिकाले प्राथमिकता साथ अगाडी बढाएको छ ।
“भोटे कुकुर अन्नपूर्ण क्षेत्रको विशिष्ट पहिचानका रुपमा रहेको छ”, गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने, “यसको संरक्षणमा स्थानीयवासीको जागरुकता अपरिहार्य छ ।”
भोटे कुकुर संरक्षण गर्न क्याम्पनै सञ्चालन गर्ने गाउँपालिकाको योजना बनाएको छ । कुँवरका अनुसारगाउँपालिकाभरि अनुमानित १५० भोटे जातका कुकुर रहेको छन् ।
–––
प्रतिक्रिया