वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३० असार । आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किनसक्ने भनी ट्वीटरमार्फत आलोचना गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पको भनाई अमेरिकी संसद (कङ्ग्रेस) मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई सङ्केत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन् । ट्वीटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन । कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् भने सांसद ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गर्नुभएको थियो । प्रगतिशील धार (लिवरल डेमोक्रेट्स) का ती चार महिला सांसदसँग सभामुख पेलोसीको सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको र यसलाई सञ्चारमाध्यममा व्यापकता पाएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त प्रतिक्रिया व्यक्त गर्नुभएको हो । यस सन्दर्भलाई लिएर सोमबार अमेरिकी डेमोक्रेट्स पार्टीका नेताहरू, बेलायती प्रधानमन्त्री टरिजा मेलगायतले अमेरिकी राष्ट्रपतिको सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । यसैबीच अमेरिकी कङ्ग्रेसका सभामुख पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गर्नुभएको छ । उहाँले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको भनाईलाई खण्डन गर्नुभएको हो । संसद्मा मिशिगनको प्रतिनिधित्व गर्ने तलाइब, नेता बर्नी स्यान्डर्सलगयतले ट्रम्प जातिवादी भएको आरोप लगाएका छन् । “न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ,” स्यान्डर्सले लेख्नुभएको छ । त्यस्तै, तलाइबले भन्नुभएको छ, “ट्रम्पमाथि महाअभियोग नै लगाइनुपर्छ ।” अमेरिकी नेताहरूको भनाइप्रति सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले ट्वीटरबाटै डेमोक्रेट्स नेताहरूले मातृभूमिबारे नराम्रो कुरा गर्ने समूह वा व्यक्तिलाई समर्थन गर्नु दुःखद भएको टिप्पणी गर्नुभएको छ ।
ट्रम्पको अभिव्यक्ति अस्वीकार्य : बेलायती प्रधानमन्त्री मे
यसैबीच लण्डनबाट फ्रान्सेली समाचार संस्था (एएफपी) ले दिएको समाचारमा बेलायती प्रधानमन्त्रीले पनि अमेरिकी डेमोक्रेट्स पार्टीका सांसदलाई सङ्केत गर्दै गरेको ट्वीटमा उनीहरू फर्किन सक्छन् भन्ने अमेरिकी राष्ट्रपतिको धारणा ‘पूर्णतया ग्रहणीय नरहेको’ बताउनुभएको छ । प्रधानमन्त्रीले अमेरिकी महिला सांसदलाई सङ्केत गरी अमेरिकी राष्ट्रपतिबाट आएको धारणा पूर्णतया ग्रहणीय नरहेको बताउनुभएको छ,” बेलायती प्रधानमन्त्री मेका प्रवक्ताले सञ्चारकर्मीसँग बताउनुभयो ।
प्रतिक्रिया