१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुशी



आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको उहाँले बताउनुभयो । उहाँजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा पोख्नुपरेको थियो । अहिले सरकारको उपलब्ध गराएको रु पाँच लाख २५ हजारले घर तथा जग्गा किनेर ढुक्कसँग बस्न पाएको बुद्धेले बताउनुभयो । उहाँहरू जस्तै जाजरकोटका ४०० हलियाले घर निर्माण गरी आनन्दसँग बस्न पाएको बताएका छन् । प्रतिपरिवारलाई रु दुई लाख जग्गा किन्न र रु तीन लाख २५ हजार घर निर्माणका लागि रकम उपलब्ध गराइएको थियो । अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुशी भएको बुद्धेले बताउनुभयो । पुनःस्थापना भएर आफ्नै दाजुभाइसँग बस्न पाउँदा जेलबाट मुक्त भएझैँ लागेको अर्का कालीबहादुर टमाटाले बताउनुभयो । जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि किनै खुशी भएका छन् । जिल्लाका सबै ठाउँमा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुशी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । अर्को जिन्दगीको शुरुआत भएको प्रतिक्रिया दिएको प्रजिअ बस्नेतले बताउनुभयो । –––

प्रकाशित : २६ असार २०७६, बिहिबार ००:००