`
तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् । वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो भएको र उच्च भू–भागमा कोदो पाक्न बढी समय लाग्ने र अर्काेतर्फ असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादनमा सन्तुलन ल्याउन असार महीनामै कोदो रोपण शुरू गरिएको स्थानीय किसान याकबहादुर लिम्बूले बताउनुभयो । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइ क्षेत्रमा शनिबारबाट कोदोरोपण शुरू भएको किसानले बताएका छन् । उत्तरी रसुवाको गोल्जुङ, चिलिमे तथा थुमनको बेँसी क्षेत्रमा छोमरूङ जातको धान न्यून रूपले उत्पादन हुने गरेको र चिसोपानीमा उत्पादन भएको रातो धानको चामलबाट पकाएको भात स्वादिलो हुने भएबाट स्थानीयवासीले आफ्नो खेतको उब्जाएको धानलाई चाडपर्वमा मात्र अधिकतम उपयोग गर्ने गरेको गोल्जुङका मिलन तामाङले जानकारी दिनुभयो । यसैगरी दक्षिणी रसुवाको धैवुङ, भोर्ले लहरेपौवा, डाँडागाँउ, ठूलोगाउँ, सरमथली र यार्साको प्राय स्थानमा धान उत्पादन हुने गरेको छ । निरन्तर वर्षा भर्खरै मात्र शुरू भएकाले अब धान रोपाइँका लागि पानीको मूल कतिखेर फुट्छ भन्ने पर्खाइमा रहेको किसानको भनाइ छ । पहिरेबेँसी, कैदलटार, वेत्रावती, कुडुले, सत्तरी, जलजले, लामासोती, कप्तलीटारका ठाउँमा समथर भू–भाग भए पनि अन्य स्थानका अधिकांश खेत भिरालो धरातलमा भएकाले पर्याप्त पानीको मात्रा नपुग्ने र उत्पादनसमेत कम हुने भएकाले रसुवा जिल्लाले झण्डै आधाजसो खाद्यान्नमा परनिर्भर हुुनुपर्ने बाध्यता रहेको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार रसुवा जिल्लामा अक्सर बसोबास गर्नेको सङ्ख्या ४३ हजार रहेको छ । दक्षिणी रसुवाको पहिरेबेँसीमा भुन्टे, कुडुलेफाँटको खुमलचार धानको चामल स्वादिष्ट मानिने भए पनि खेती गर्ने किसानको मेहनत अत्यन्तै कमी हुँदै गएको स्थानीयवासीको भनाइ छ । रसुवा जिल्ला राजधानी काठमाडौँबाट नजिक नेपाल–चीन जोड्ने रसुवागढी नाका भएको र व्यापारी व्यवसायीको चहलपहलले खाद्यान्न बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । रसुवाको खेतीयोग्य जमीन भने १२ हजार हेक्टर रहेको कृषि तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया