२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

मन्त्री नेम्बाङ्गद्धारा गृह जिल्लामा एकैदिन तीन आयोजनाको शिलान्यास



फिदिम १ फागुन । फिदिम रंगशाला, फिदिम माविको विद्यालय भवन तथा फिदिम बजार भित्रका सडक कालोपत्रेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले आज एकसाथ शिलान्यास गरेका छन् ।


फिदिम बजारभित्र रहेको खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्न लागिएको हो । यसका लागि ठेक्का सम्झौता भइसकेको छ । रङ्गशाला निर्माणको ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले रु. १० करोड ६३ लाख ७५ हजारमा लिएको हो । आगामी १७ महिना भित्र निर्माण गर्ने लक्ष्य राखिएको छ । रङ्गशालामा प्याराफिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा व्यवसायिक सटरहरु र शौचालय समेत निर्माण हुनेछ ।


यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजार भित्रका मुख्य सडकहरुको कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको हो । उक्त कार्यालयबाट सञ्चालन हुने योजना अनुसार रु. ४ करोड १८ लाख कुल लागतमा फिदिम बजार भित्रका मुख्य सडकहरुको कालोपत्रे तथा स्तरोन्नति हुन लागेको हो । आगामी छ महिनाभित्र बजार भित्रका मुख्य सडकहरुको कालोपत्रेको ठेक्का रु. ३ करोड ५ लाख ८६ हजारमा भइसकेको छ ।

यस्तै करिब २२ सय विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । अधिकारी–खनाल जेभीले रु. २ करोड ३ लाखमा ठेक्का लिएको छ । नमूना विद्यालय निर्माण कार्यक्रम अन्तर्गत यस विद्यालयमा सूचना सञ्चार–प्रविधि प्रयोगशाला सहितका संरचनाहरु निर्माण भइरहेको छ ।


तीन वटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नसक्ने बताए । फिदिम खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको वताउँदै मन्त्री नेम्बाङ्गले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए । उनीले पूर्वाधारहरु निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताए । सबै आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्बाङ्गले विकास निर्माणको अभियानबाट कोही विचलित हुन वा आत्तिन नहुने बताए । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेहरुलाई छटपटि भएको छ”, मन्त्री नेम्बाङ्गले भने, “जनता खुशी भएपछि नेता कार्यकर्तापछि दलीय सोचबाट माथि उठेर खुशी हुनुपर्छ ।”

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार ००:००