२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

अर्थ

आगलागी हुँदा २९ हजार सेवाग्राही मर्कामा



नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२÷११ केभी सवस्टेशनमा गए राति भएको आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् ।

प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ । आगलागीका कारण सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको हो । आगलागी के कति कारणले भयो भन्नेबारेमा छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।

नियन्त्रण कक्षमा पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बाहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ । आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गए राति आगलागी भएको हो, नियन्त्रण कक्षमा रहेको कन्ट्रोल प्यानललगायत अन्य उपकरण पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन गरिरहेका छौँ ।”

प्राधिकरणले आज नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौँबाट त्यहाँ पठाएको छ । सवस्टेशनमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको थियो ।

बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति भइरहेको थियो । प्राधिकरणले परासी, गण्डक र शीतलनगर सवस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गत वर्ष पनि बर्दघाट सवस्टेशनको सोही नियन्त्रण कक्षमा आगलागी भएको थियो ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार ००:००