२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Life Style

स्वास्थ्य बिज्ञ भन्छन्, ‘क्यान्सर नियन्त्रण गर्न सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गरिनुपर्छ ‘


२६ भाद्र २०७६, बिहिबार ००:००

0
Shares


काठमाडौं, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने बताएका छन् ।
बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो धारणा राखेका हुन् । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन–ऐन २०६८ को प्रभावकारी कार्यान्वयनको लागि तीन तहकै सरकारबीच सहकार्य हुन आवश्यक रहेको सुनाए ।
सचिव बरालले सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र सेवनको लागि सरकारले धेरै राम्रा ऐन तथा कानूनहरु ल्याएपनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन नहुँदा केही समस्या अझैपनि देखिएको टिप्पणी गरे । उनले ऐन कार्यान्वयनको लागि अब सरकारका सबै संयन्त्रहरुबीच समन्वय हुनेपनि विश्वास दिलाए ।
त्यस्तै, उनले नसर्ने रोग नियन्त्रणको लागि परिवारदेखिनै सचेतना आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानगेलेयरले नसर्ने रोगहरु विकसित देशहरुमा जटिल रुपमा देखा परेको सुनाए । नेपालमा पनि सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सकिए मुटु, क्यान्सर, दमलगायत विभिन्न रोग नियन्त्रण हुने उनको विश्वास छ ।
उनले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको देख्न र सुन्न पाउँदा निकै खुशी लागेको बताए । आगामी दिनमा पनि काउन्सिलले यस्ताखाले जनचेतनामूलक कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढ्नुपर्ने उनको आग्रह थियो ।


कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले नसर्ने रोगहरुको नियन्त्रणको लागि नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको सुनाए । उनले फ्रान्समा सन् २०१७ मा जनचेतनाका कारणले १० लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन त्यागेको सुनाउँदै नेपालमा पनि त्यही स्तरको जनचेतना कार्यक्रम अघि बढाउन सकिए यहाँ सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या घट्ने थियो भन्ने धारणा राखे ।

प्रकाशित : २६ भाद्र २०७६, बिहिबार ००:००