२६ आश्विन २०८१, शनिबार । October 12, 2024

अर्थ

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गर्नुभएको छ । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गर्नुभएको हो । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नु भएका नेपालका लागि रसियाका राजदूत एलेक्सिइ ए नोभिकोभलाई मन्त्री पुनले दुई देशबीचको मैत्रीसम्बन्ध जनस्तरसम्म फैलिएर थप प्रगाढ बनेको समेत स्मरण गर्नुभयो ।
भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । रसियाले विगतमा पनि पनौती जलविद्युत् आयोजना, पूर्वपश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै उहाँले आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पुनले जलविद्युत्को क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गर्नुभयो ।
“जलविद्युत् क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १०० मेगावाटभन्दा माथिको परियोजनाको विद्युत् खरीद सम्झौता पनि सरकारले अमेरिकी डलरमा गर्ने निर्णय गरेको छ । लगानीमैत्री वातावरण बनेको छ । यसलाई सदुपयोग गरेर नेपालमा लगानी गर्न म आग्रह गर्छु” मन्त्री पुनले भन्नुभयो । मन्त्री पुनले सन्देश रसियन लगानीकर्तालाई नेपालको लगानीमैत्री वातावरणको सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो ।
जवाफमा राजदूत नोभिकोभले ऊर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागि वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार ००:००