२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

घरआँगनमै धारा आएपछि कुमाल बस्तीमा खुशीयाली


५ भाद्र २०७६, बिहिबार ००:००

0
Shares



गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत रातडाडाँको सीमान्तकृत कुमाल समुदायमा यतिबेला खुशीयाली छाएको छ ।

उनीहरुमा खुशी छाउनुको कारण गाउँमा कुनै ठूलो उत्सव, पर्व र भोजभतेरमा रमाएर होइन, आफ्नै घरआँगनमा छङ्छङ् गर्दै खानेपानीको धारा खस्न थालेपछि यतिबेला उनीहरुको जीवनमा थप खुशी थपिएको हो ।

“पहिले त बिहानै ५ बजे उठेर पँधेरामा जानुपथ्र्यो, त्यहाँ पनि पालो पर्खनुपर्ने, कहिलेकाहीँ त पँधेराको पानी पनि सकिएर रित्तै गाग्री बोकेर फर्कनुपथ्र्यो, अहिले घरमै धाराबाट पानी खसेपछि निकै खुशी भएका छौँ”, स्थानीयवासी धनिकला कुमालले भने ।

विगत लामो समयदेखि खानेपानीको चरम अभाव खेप्दै आएका यहाँका कुमाल बस्तीमा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाबाट विपद् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रमद्वारा रातचौर खानेपानी आयोजना सम्पन्न गरेपछि घरमै धाराबाट पानी खस्न थालेपछि उनीहरु खुशी भएका हुन् । बेदादी सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत सो आयोजना सम्पन्न भएको थियो । आयोजना सम्पन्न भएपछि अहिले उक्त बस्तीका बासिन्दाहरु विगतका पीडा र दुःखका कथाहरु बिर्सन थालेका छन् ।

सरकार र इस्मा गाउँपालिकाको एक घर, एक धाराको नीतिअनुसार गरीबीको रेखामुनि रहेका विपन्न परिवारमा रेडक्रसको सहयोग र स्थानीयवासीको श्रमदानबाट खानेपानी पु¥याएका हुन् । खानेपानीको अभावमा एक गाग्री पानी ल्याउन एकाबिहानै भालेको डाँकोसँगै उठेर एक हातले आँखा मिच्दै र अर्को हातले डोको समाउँदै घण्टौँसम्म कुवामा पालो कुरेर बस्नुपर्ने कुमाल बस्तीमा यतिबेला खानेपानीको समस्या समाधान भएको स्थानीयवासी यमबहादुर कुमालले बताए ।
घर आँगनमा खानेपानीको धारा खसेपछि एकातिर वर्षौदेखिको उनीहरुको खानेपानीको समस्या समाधान भएको छ भने अर्कोतिर समयको पनि बचत भएको छ । नेपाल रेडक्रस सोसाइटीको रु नौ लाख ५० हजार र स्थानीय उपभोक्ताको करीब रु तीन लाख जनश्रमदान गरी कूल रु १२ लाख ५० हजार लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको हो । गाउँमा खानेपानीको स्रोत नभएपछि गाउँलेले तीन किलोमिटरभन्दा टाढाको दूरीबाट ४२ घरपरिवारमा खानेपानी पु¥याएका हुन् ।

नेपाल रेडक्रसले विपद्को क्षेत्रमा मात्र नभई मानव जीवनसँग प्रत्यक्षरुपमा जोडिएको स्वास्थ्य र सरसफाइको क्षेत्रमा पनि सहयोग पु¥याउनुपर्छ भन्ने उद्देश्यले खानेपानीको समस्यामा परेका सीमान्तकृत बस्तीमा सहयोग गरेको नेपाल रेडक्रस गुल्मी शाखा सभापति अनुपकुमार श्रेष्ठले बताए ।

यसरी घर–घरमा खानेपानी पुगेपछि त्यहाँका स्थानीयवासीले एक कार्यक्रमको आयोजना गरी एकापसमा अबिर र टीका लगाई खुशीयालीसमेत साटासाट गरेका थिए ।
रासस

प्रकाशित : ५ भाद्र २०७६, बिहिबार ००:००