३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

खेलकुद

के मेसीले पुस्कास अवार्ड जित्लान् ?




काठमाडौं, ४ भदौ । बार्सिलोनाका सुपरस्टार लियोनल मेसी पुस्कास अवार्डको मनोनयनमा समेटिएका छन् । यो अवार्डका लागि मेस्सी सातौं पटक मनोनयमा परेका हुन् ।

सिजनको उत्कृष्ट गोलका आधारमा पुस्कास अवार्डको मनोनयन गरिएको हुन्छ । यो अवार्डका लागि मेसीपछि नेयमार ५ पटक, जाल्टान इब्राहिमोभिच ४ पटक तथा क्रिस्टियानो रोनाल्डो २ पटक मनोनयनमा परेका छन् । सन् २००९ मा नै रोनाल्डोले उक्त अवार्ड जितेका थिए ।
अहिले सम्म पुस्कास अवार्ड रोनाल्डो, नेयमार, हामेस रोड्रिग्वेज, ओलिभर जिर्रोड र इब्राहिमोभिचले जितेका छन् । इब्राहिमोभिच यसपटक पनि मनोनयमा परेका छन् । मेस्सी र इब्राहिमोभिचसहित यसपटक मनोनयमा म्याथुज चुन्हा, अजरा एचोट, फाबियो क्लाग्लिएर्ला, हुवान फर्नेनान्डो क्वान्टिरो, एमी रोड्रिग्वेज, बिली सिम्पसन, आन्द्रोस टाउसेन्ड र डानियल सोरी छन् ।

फिफाको अफिसियल वेबसाइटमा समर्थहरुले सेप्टेम्बर १ सम्म भोट गर्न पाउने बताइएको छ । मतपछि फिफाका तीन सदस्यीय टोलीले विजेताको घोषणा गर्नेछन् । सेप्टेम्बर २३ मा मिलानमा हुने द बेस्ट अवार्डकै दौरान पुस्कास अवार्डको विजेता घोषणा गरिनेछ ।
मेसीका लागि पछिल्लो सिजन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा उनको टोलीलाई सफलता नमिले पनि लगातार ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै महत्वपूर्ण रह्यो ।
उनले आफ्नो खेल जीवनमा व्यक्तिगत उपाधि प्रशस्तै जितिसकेका छन् । बालोन डी ओर मात्रै उनले आफ्नो जीवनमा ५ पटक जितिसकेका छन् । युरोपका अन्य व्यक्तिगत उपाधि लगभग सबै जितिसकेका उनले पुस्कास अवार्ड भने अहिलेसम्म जित्न सकेका छैनन् । त्यसैले, योपटक मेसीले यो अवार्ड जितेर नयाँ इतिहास लेखाउने उनका समर्थकको विश्वास छ । अर्जेन्टिनी कप्तानसमेत रहेका मेसीले जित्छन् या फेरि पनि जित्दैनन्, त्यो भनें हेर्न बाँकी छ ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ००:००