
नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर शाहीले मञ्जु श्रेष्ठको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार चेमजोङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “चेमजोङले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग रु १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको र रकम भुक्तान गर्न नसकेपछि पैसा नभएको चेक दिएपछि उक्त खाली चेकका आधारमा चेमजोङलाई पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । पक्राउ चेमजोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेकामा अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको ब्यूरोले जनाएको छ । –––
प्रतिक्रिया