काठमाडौं । जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ कार्तिक १० र ११ मा भाषा परीक्षा हुने भएको छ ।
पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्षा कार्तिक २० र २१ मा हुने छ ।
भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् ।
नेपाली कामदार जापान लैजाने विषयमा नेपालले गत चैत्र ११ मा जापानसंग सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको हो । सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भनिएको थियो । सम्झौता नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेका थिए ।
जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लाने बताउँदै आएका छ ।
प्रतिक्रिया