१८ फाल्गुन २०८१, आइतबार । March 3, 2025

समाचार

काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद



विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ । केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । ६३ घरधुरी रहेको सो विकट गाउँमा पुग्न सदरमुकामबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ । वर्षायाम लागेपछि गाउँ पुग्न पैदल हिड्नुपर्ने हुन्छ । गाउँमा काठेपुल बगाएपछि वडा कार्यालयले काठेपुल बनाउन गाउँवासीलाई आग्रह गरेपनि गाउँमा युवा नभएपछि बनाउन नसकिएको वडाध्यक्ष तामाङले बताउनुभयो । क्यूङ गाउँस्थित थलीमा रहेको १० घरमध्ये सात जना मात्र गाउँमा छन् । गाउँमा कोही पनि नभएकोले थली गाउँ शून्य अवस्थामा छ । कन्द्राङ १३ घर, गोरगङ गाउँमा पाँच घर रहेको छ । गाउँभरीमा युवा तथा तन्नेरीहरु कोही नभएपछि गाउँमा गरिने विकासका कामसमेत प्रभावित भएको छ । बुढापाका र बालबालिका मात्र गाउँमा रहेकोले साधारण रुपमा गर्न सकिने काठेपुल बनाउन आवश्यक जनशक्ति छैन । कोही मानिस बिरामी भयो भने बोकेर स्वास्थ्य चौकीसम्म लाने मानिससमेत नभएको गाउँवासीको भनाइ छ । गाउँमा यातायात, सञ्चार नभएपछि गाउँवासी पलायन हुँदै गएको र वर्षमा छ महीना भारततर्फ काम गर्न गएकाले गाउँ युवा विहीन भएको हो ।

प्रकाशित : ४ श्रावण २०७६, शनिबार ००:००