१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

खेलकुद

राखेपको मान्यता प्राप्त सङ्घलाई मात्र ओलम्पिक कमिटीमा



राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ । राष्ट्रिय खेलकूद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा सांसदहरूले खेलक्षेत्रलाई अनुशासित एवम् मर्यादित बनाउन राखेपमा दर्ता भएका सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने बताउनुभएको हो । सांसद रामनारायण विँडारीले नेपाल ओलम्पिक कमिटीले खेल सञ्चालनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)को नियमानुसार लागू भए तापनि कमिटीको सञ्चालन भने सरकारको निगरानीमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जुनसुकै प्रतियोगिताको खेल अन्तर्राष्ट्रिय नियमानुसार सञ्चालन भए पनि खेल संस्था भने प्रचलित कानूनअनुसार नै चल्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले हरेक खेलको एक मात्र सङ्घ हुनका लागि विशेष ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले एकै प्रकृतिका दुई वा दुईभन्दा बढी सङ्घ रहेकाले खेल क्षेत्र निकै विवादित बन्दै गएको भन्दै यसको निरुपणका लागि छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै समितिको आगामी बस्ने बैठकले सांसदहरूले आज दिनुभएका सुझावलाई समेटेर विधेयकलाई निष्कर्षमा पु¥याउने सभापति परशुराम मेघी गुरुङले बताउनुभयो । उहाँले बैठकमा खेलकूद सङ्घ, ओलम्पिक कमिटी र परिषद्बीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित : ३१ असार २०७६, मंगलबार ००:००