बेइजिङ, ३० असार । चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६.२ प्रतिशत देखिएको छ जबकी पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो । तर सरकारको जिडिपी प्रक्षेपण ६.० देखि ६.५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने चिनियाँ अधिकारीहरुको भनाई छ । यद्यपी सन् २०१८ को तुलनामा यो वृद्धिको अनुमान पनि कम नै हो । चीनको सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत थियो । चिनियाँ अर्थतन्त्रमा निरन्तर गिरावट आएसँगै संयुक्तराज्य अमेरिकासँगको व्यापार वार्तामा चीनको अडान कमजोर हुने संकेत देखिएका छन् । चिनियाँ तथ्याँक ब्यूरोका प्रवक्ता माओ शेङयोङले आर्थिक परिस्थिति चीन र अन्य मुलुकको निकै जटिल अवस्थामा पुगेको जनाउँदै विश्वको आर्थिक वृद्धि नै न्यून भएको र बाह्य अस्थिरता एवं अनिश्चितता बढ्दो छ भन्नुभयो । चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन । चीनको पहिलो छ महिनामा कूल निर्यात केबल शून्य दशमलब १ प्रतिशतले मात्र वृद्धि भएको छ । माओले भन्नुभयो– चीनले अहिल्यै पनि अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न नीतिगत सुधार गर्न सक्दछ ।
३० असार २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया