१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

मुख्य खबर

वर्षाले ल्याएको विपद : २२ जनाको मृत्यु, ठाउँठाउँमा बाढी पहिरो, देशभरको जनजीवन प्रभावित (अपडेट)



काठमाडौं २७ असार । बिहीबार रातिदेखिे परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा ७ जनाले ज्यान गुमाएका छन् ।
अविरल वर्षाका कारण काभ्रैपलाञ्चोक जिल्ला बनेपा ३ की ५५ बर्षीया गोमा दंगाल र ७ बर्षीया सोहनी दंगालको मृत्यु भएको छ । अर्की नातीनी अनुस्का र बहुहारी सुशिलाको उद्दार गरि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–७ मा ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । वर्षाका कारण घर भत्किदा पर्खालले लागेर मृत्य भएको हो ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्याङको तुनीटाङमा शनिबार बिहान गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै टेम्केमैयुङ गाउँपालिका–९ का १४ वर्षीय जनक विकको पनि पहिरोका कारण मृत्यु भएको छ ।
रामेछाप जिल्ला रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिका १ का १० बर्षीय निखिल पटेलको मृत्यु भएको छ । स्थनीय सिंग्याही खोलाले बगाएर उनको मृत्यु भएको हो ।

त्यस्तै ललितपुरमा समेत एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बागमती नगरपालिका- ३ का ११ वर्षीय सरोज जिम्मा पहिरोमा पुरिएर मृत्यु भएको हो।

ललितपुर महानगरपालिका १३ का ३९ बर्षीय सुवेश बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो । नख्खु पुल छेउ पर्खालमा हिँडिरहेका उनी नदीमा खसेका थिए । बस्नेतको शव वडा नम्बर १८ मा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका जानकारी दिए।

मकवानपुर जिल्लाको थाहा नगरपालिका – ३ की बालिका सञ्चना बलामी मृत्यु भएको छ । स्थानीय महाभीर खोलाले बगाउँदा घाइते भएकी उनको मृत्यु भएको हो । खोलाबाट उद्धार गरि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्लाकै कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले विहिबार बिहान खोजतलास गर्दा फेला परेको हो ।

काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ । उहाँका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो । गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

धादिङमा पहिरोले घर लडाउँदा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका(४ की ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो । पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको छ ।

त्यस्तै ओखलढुंगामा समेत वर्षाका कारण एक जनाको ज्यान गएको छ ।


खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय बालक जीवन राई रहेका छन् । उनको खोजी कार्यका लागि अहिले प्रहरीचौकी रवि र स्थानीयले खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।
त्यस्तै काठमाण्डौ, मोरङ, महोत्तरी, झापा,सुनसरीमा १/१ जना बेपत्ता छन्।

 साथै काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, मकवानपुर, धादिङ र दोलखामा १/१ जना गरी ७ जना घाइते भएका प्रहरी पधान कार्यालयले जनाएको छ ।


काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार बिहान घरअगाडीको ढिस्को झरेपछि जोखिममा रहेको इन्द्र दाहालको घर । तस्वीर : पेमा लामा

वर्षाका कारण आएको विपदले जुन जिल्लामा कति क्षति पुग्यो ?

सप्तकोसीको बाढीले खतराको तह पार गर्यो, आइतबारसम्मै उच्च सावधानी अपनाउनु पर्ने

काठमाडौं २८ असार। अविरल वर्षाका कारण सप्तकोसीमा आएको बाढीले खतरा तह पार गरेको छ ।

बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ ।

पूर्वपश्चिम राजमार्गको पुल भत्किँदा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । पुल भत्किएपछि बर्दिवास नगरपालिका–५ सशस्त्र प्रहरीको माईस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका छन् । रातिदेखि नै यात्रु सडकमा अलपत्र छन् । कतिपय यात्रु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् । आज बिहान विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बर्दिवासको १४ नम्बर बजारका केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा तीन वटा घर भत्किएको बर्दिवास नगरपालिका–७ का अध्यक्ष फागुनी मगरले बताउनुभयो । बर्दिवास नगरपालिका–१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।


काभ्रे

अविरल बर्षाका कारण पहिरोले घर परिँदा काभ्रेमा दुई जनाको मृत्यु1

काठमाडौं २७ असार । अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–३ मा गएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पहिरोले रामप्रसाद दंगालको घर पुरिएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।अर्की नातिनी अनुस्का र बुहारी सुशीलालाई उद्दार गरिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेका छन् ।

मोरङ


वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा


विराटनगर, २७ असार । तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार घाटका छेउछाउका ५० भन्दा वढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण विराटनगर–१२ को केही क्षेत्रसमेत डुवानमा परेको छ । उक्त स्थानमा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको कारण कुनै मानवीय क्षति भएको छैन । कटहरी गाउँपालिका–१ झझौरा टोल र बख्खु टोलमा ५० भन्दा बढी घर डुबानमा परेको छ । विराटनगरका सडक निर्माणाधीन अवस्थामा रहेकाले अविरल वर्षाका कारण नगरवासीलाई हिँड्डुल गर्न पनि सकस परेको छ । केही महीना अगाडि सडक तथा नाली निर्माण गर्न भत्काइएको र निर्माण कार्य सम्पन्न नभएकाले सडक हिलाम्य भएकाले यो समस्या देखिएको हो । विराटनगर महेन्द्र चोकदेखि पूर्व ट्राफिक चोकसम्म, ट्राफिक चोकदेखि उत्तर तीनपैनीसम्म, प्रादेशिक अस्पताल (कोशी अस्पताल) चोकदेखि उत्तर तीनपैनी चोक, ट्राफिक चोकदेखि पूर्व न्यूरो अस्पताल जाने सडक, देवकोटा चोक छेउछाउका सडक, जनपथ सडक, सरौचियाबाट राजमार्ग जोड्ने केही सडक कच्ची भएकाले मानिस तथा यातायातका साधनलाई ओहोरदोहोर कठिनाइ भएको छ । कच्ची सडक, निर्माणाधीन नाला, हिलाम्य र खाल्डाखुल्डी पार गर्दै सवारीसाधन चल्दा दुुर्घटना हुने सम्भावना बढेको छ । हिलाम्य र खाल्डाखुल्डीले गर्दा निजी तथा आवासीय विद्यालयबाट सञ्चालित हुने सवारीसाधन र सामुदायिक विद्यालय विद्यार्थीलाई पनि निकै समस्या भएको छ । झरीले गर्दा बजारमा तरकारीको आयात कम भएको छ भने भएका उपलब्ध हरियो सागसब्जी महँगो भएको छ । झरी केही समय रहने हो भने जिल्लाका बक्राहा, केसलिया, सिंगियाजस्ता ठूला नदीमा बाढी आउने सम्भावना बढेकाले त्यस क्षेत्रका सशस्त्र, जनपद प्रहरीलाई सर्तक रहन प्रशासनले निर्देशन दिएको छ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा हुने वर्षाबाट उत्पन्न हुने समस्या समाधानका लागि तत्काल उद्धार टोली परिचालन गरेको छ । लगातारको वर्षाले प्रादेशिक अस्पताल (कोशी)को परिसरमा पानी जम्ने समस्यालाई समाधान गर्न मोटरबाट पानी निकासको व्यवस्था गरिएको छ ।

खोलाले बगाएर बालक बेपत्ता


हिलिहाङ, २७ असार । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय बालक जीवन राई रहेका छन् । उनको खोजी कार्यका लागि अहिले प्रहरीचौकी रवि र स्थानीयले खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । निरन्तरको वर्षात्को कारण नुँवा खोलामा आएको बाढीले बगाएर उनी बेपत्ता भएका थिए ।  

खोटाङ

पहिरोले घर बगाउँदा तीन बेपत्ता

खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताउनुभयो । “पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्”, उहाँले भन्नुभयो, “अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।” घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् । जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गए रातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ ।

मकवनपुर

त्रिभुवन राजपथको बागझोरा अवरुद्ध


हेटौँडा, २७ असार  । गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो । यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिनुभयो ।

महोत्तरी

रातो खोलाले वृद्धलाई बगायो


गौशाला, २७ असार  । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ । बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन् ।

वर्षा याममा सिंहदरबारको पर्खाल मानव पासो हुने सम्भावना


फोटोः लोक चन्द्र थापा

सो अबिरल परेको पानीले सिंहदरबारको पूर्वि तर्फको पर्खाल करिब विहान १० बजे भत्किएको हो । कार्यालय समयमा अति व्यवस्त हुने सडक, भाग्यवस सो पर्खाल भत्किंदा कसैको ज्यान भने गएको छैन तैपनि प्रत्यक्षदर्शीका अनुसार एकजना पैदल यात्रीलाई चोट लागेको उक्त घाइटेलाई उपचारका लागि सहयोगीले अस्पताल तर्फ लगेको बताए । यसैले प्रष्ट हुन्छ कि सिंहदरबारको पर्खाल कति सम्म बलियो निर्माण गरिएको छ भन्ने तथ्य देखियो । यो सिंहदरबारको पर्खाल नभइ वर्ष याममा मानव पासो हुने ठुलो सम्भावना छ ।

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु , प्रशासनद्धारा उच्च सतर्कता


भक्तपुरमा डुबान शुरु । अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ । उहाँले भन्नुभयो, “हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छाँै, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।” नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन् । शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा यस वर्ष रु २० लाख विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको छ । गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायत क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौँ घर डुबानमा पर्नाका साथै करोडौँको धनमाल क्षति भएको थियो । यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दामा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएकाले थप समस्या बल्झिएको हो । सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताउनुभयो । उहाँले उक्त करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्न आवश्यक पहल भइरहेको बताउनुभयो । विसं २०७५ मङ्सिरदेखि उक्त करिडोरको निर्माण कार्य शुरु भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा असार लागेलगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ । मध्यपुर थिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्साअनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाले अवरोध पु¥याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताउनुभयो । आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा पस्न थालेको बताउँदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ । जग्गाधनीको सहमतिअनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साका आधारमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार करिडोर निर्माण गरिएकामा एक महीनादेखि रोकिएको छ ।


पर्खाल भत्किँदा तीनको मृत्यु

काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ । उहाँका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

पहिराले गोठ बगाउँदा महिलाको मृत्यु

सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो । गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । माथिबाट खसेको पहिराले गोठसहित बगाउँदा तीन गाई, दुई बाख्रासमेत मरेको उहाँले जानकारी दिनुभयो । वर्षाका कारण फिक्कलमा पर्ने मध्यपहाडी लोकमार्गका नवलपुर, बाजुरा, खाङसाङ खोला, सोखुखोला लगायतका स्थानमा राजमार्ग अवरुद्ध भएको उहाँको भनाइ छ । गएरातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । केही पहिरो पन्छाएर एकतर्फीका सवारीसाधन सञ्चालनमा ल्याए पनि पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

बेपत्ता रहेका तीनको शव फेला

खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो । पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेकाको उद्धारमा ढिलाइ भएको जनाइएको छ । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो खसेर राई परिवारलाई घरसहित बगाएको जनाइएको छ । जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । विद्युत् सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ । अवरुद्ध विद्युत् कहिले सञ्चालन हुने भन्नेमा टुङ्गो छैन ।

बाढीले बगाउँदा दुईकोमृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रबार जनाएको छ । अविरल वर्षातले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आजै बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । यसैगरी अविरल परेको वर्षात्ले भैँसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौँडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध भएको छ । हेटौँडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–नारायणगढ–सडकखण्डमा यातायात सेवा पनि आजै बिहानैदेखि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जनकपुर डुवानमा,जनजीवन कष्टकर


जनकपुरधाम, २८ असार । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ । राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परी कार्यालयका कोठामा चार फिटसम्म पानी जमेको र कागजात क्षति पु¥याउनुका साथै समाचार सप्रेषणमा समस्या उत्पन्न भएको छ । वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको छ ।


पहिरोले घर परिएर भोजपुरमा एकै परिवारका तीन जनाको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा शनिबार बिहान गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।
घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। घरायसी कामले श्रीमान कुमार राई गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।


तनहुँको भिमाद बजारबाट ग्रामीण भेगतर्फ हिलाम्य बाटोबाट जाँदै गरेको बस । केही दिनदेखि परेको अविरल वर्षाका कारण ग्रामीण सडक हिलाम्य हुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । तस्वीर : कृष्ण न्यौपाने,

प्रकाशित : २७ असार २०७६, शुक्रबार ००:००