१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

ग्लोबल

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु



इस्लामाबाद, २६ असार । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए । स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिनुभएको छ । घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताउनुभयो । पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ । पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिनुभएको छ । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित : २६ असार २०७६, बिहिबार ००:००