
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सभामुख अगाडिको वेलमा गएर नारा लगाई विरोध जनाउँदै । तस्वीर : रत्न श्रेष्ठ ।
काठमाडौँ, २५ असार (रासस) प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट चार विधेयक पारित भएको जानकारी दिइएको छ । अपराह्न १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक डेढ घण्टापछि २ः३० बजे मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाउनुभएको थियो । सभामुख महराले पटक पटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो ।

प्रतिनिधिसभाको बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सहभागी सांसद । तस्वीर : रत्न श्रेष्ठ ।
विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाउनुभएको थियो । सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ । विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपालनाथ योगीले दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १ बजे बस्ने छ
प्रतिक्रिया