पोर्ट मर्सबी, २५ असार (रासस-एएफपी) पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि हिंसात्मक झडप भइरहेका छन् । हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ । हेला प्रान्तीय प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घटनामा अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने बताउनुभयो । घटनास्थल पुगेका प्रहरी र अरु सुरक्षा अधिकारीले पछिल्लो स्थितिको जानकारी गराउन बाँकी रहेकाले यसपटकको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बान्डोले बताउनुभयो । हालैमात्र नियुक्त हुनुभएका प्रधानमन्त्री जेम्स मारापेले थप सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिँदै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – मेरो जीवनमै आज यो सबैभन्दा दुःखद दिन हो । मेरै निर्वाचन क्षेत्रका मुनिमा र कारिडामा धेरै बालबालिका र गर्भवतीको हत्या भएको छ । कारिडा गाउँमा मात्र आक्रमणकारीले छ महिला, आठ बालबालिका र दुई जना गर्भवतीको हत्या गरेका प्रहरीले जनाएको छ । प्रधानमन्त्री मारापेले भन्नुभएको छ, बन्दुकको आडमा हिंसा फैल्याउनेहरु तिम्रा दिन अब सकिए । निर्दोष व्यक्तिको हत्या गर्ने अपराधीहरुलाई के गर्नु पर्दछ भन्ने मलाई राम्रैसँग थाहा छ । उहाँले हिंसामा संलग्नमाथि मृत्युदण्डको व्यवस्था कानुनमा रहेको पनि बताउनुभयो । उक्त घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन, तर बलात्कार वा चोरी वा सीमा विवादसम्बन्धी विगतको दुश्मनीकै कारण यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
२५ असार २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया