रामपुर (पाल्पा), ५ साउन । साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते हुनुभएका चन्द्रबहादुर परियारलाई उपचारमा समस्या परेको छ ।
धन कमाउने आशा बोकेर ऋण खोजेर साउदी अरब पुग्नुभएका रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ३९ वर्षीय परियार विदेश पुगेको सात दिनमै तीन तलामाथिबाट खसेर जीवनभर अर्काको सहारामा बाँच्नु पर्ने भएको छ ।
एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्न र घरव्यवहार सहजरुपमा चलाउन अनेकौँ सपना बोकेर विदेश पुग्नुभएका परियार गएको सात दिनमै राति सुत्ने क्रममा तीन तलामाथिबाट खसेपछि उहाँ जीवनभर अपाङ्ग भएर बाँच्नु परेको छ ।
आफू अपाङ्ग भएर बाँच्नुको पीडा जति छ मनमा, त्योभन्दा दोब्बर पीडा उहाँलाई उपचार कसरी गर्ने भन्ने पीडाले सताइरहेको छ । सम्पत्तिको नाममा छ आना जग्गामा पानी आउँदा ओत लाग्ने र घाम छेक्ने एउटा सामान्य झुप्रो छ । तीन महिनासम्म साउदीमै कम्पनीले उपचार गरेर स्वास्थ्यमा सामान्य सुधार आएपछि उहाँलाई घर पठाएको छ ।
साँझ बिहान के खाऊँ, के लाऊँजस्तो अवस्थामा जीवन गुजारा गरिरहनुभएका चन्द्रबहादुरको परिवारको सपना अहिले मरुभूमिमा बिलिन भएको अवस्थामा छ । उहाँको दाहिने हात, दुईवटा खुट्टाले काम नगर्ने भएको छ भने उहाँ सुन्न राम्रोसँग सक्नुहुन्छ तर आवाज निकालेर बोल्न भने सक्नुहुन्न ।
बिरामी चन्द्रबहादुरलाई भेट्न जाने आफन्त साथीभाइलाई उहाँले इशारा गर्दै आफूलाई उपचार गरी जीवन बचाइदिन अनुरोध गर्नुहुन्छ । छिनमै बेहोस हुने छिनमै होसमा आउने हँुदा पनि उहाँको परिवार भावविह्वल छ ।
धन कमाएर परिवार पाल्ने मिठो सपना बुन्नुभएका परियारको सपना काम सुरु गरेको दुई दिनमै मरुभूमिको हावाले उडायो । कम्पनीले घर फर्काएपछि परिवारले ऋण खोजेर उपचारका लागि विभिन्न स्थानमा पु¥याउँदै आएको छ ।
अहिलेसम्म उपचारमा रु दुई लाखभन्दा बढी खर्च भइसकेको उहाँकी श्रीमती मिट्ठु परियारले बताउनुभयो । “आयस्रोत केही छैन ऋण खोजेरै भएपनि उपचार गरेको छु”– “साहुले दिनदिनै सताएको छ, कमाउने बाटो नहँुदा अहिले उपचारमा निकै समस्या परेको छ” उहाँले भन्नुभयो । कुनै संघ संस्था, व्यक्तिबाट केही सहयोग नपाउँदा उहाँलाई बिरामीको उपचार कसरी गर्ने भन्ने समस्याले रातदिन पिरोलेको छ ।
नेपालस्थित वर्कफोर्स म्यानपावर कम्पनीमार्फत उहाँ रु एक लाख २० हजार लगानी गरेर साउदी पुग्नुभएको हो । काममा लागेको दुई दिनमै उहाँ जीवनभरका लागि अशक्त हुनुप¥यो । उहाँले विदेशमा कमाएको धनले पहिला बास बस्ने एउटा घर बनाउने सोच बनाउनुभएको थियो, तर त्यो सपना नै रह्यो ।
चन्द्रबहादुर त एउटा प्रतिनिधि पात्र मात्र हुन् । उहाँ जस्ता हजारौँ युवाको सपना मरुभूमिमा बिलिन हुन पुगेका छन् । स्वदेशमै रोजगारीको अवस्था सरकारले सिर्जना गर्न सकेको भए लाखौँ युवा यसरी विदेशीनुपर्ने थिएन ।
काम र दामका लागि विदेशमा रगत र पसिना बगाउने हजारौँ युवालाई यहीँ बसेर काम गर्ने अवस्था सिर्जित भएको खण्डमा यस्ता अकल्पनीय घटनाका सिकार बन्नुपर्ने थिएन । बेरोजगारीको चरम समस्याले गर्दा नै उनीहरु नचाहँदा नचाहँदै पनि विदेश पुग्न बाध्य भएका छन् ।
प्रतिक्रिया