भीमदत्तनगर, ४ साउन । सक्कली भन्दै नक्कली कार तथा मोटरसाइकल खरिद गरेर ठगिएका ३४ जना सवारीधनी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई गुहार्न पुगेका छन् ।
गत असार २९ गते प्रहरीले सरकारी कागजात किर्ते गरी सवारीसाधान यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएपछि सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायका लागि प्रहरीमा पुगेका हुन् ।
अभियुक्त श्रेष्ठले कैलाली र कञ्चनपुर लगायत देशका विभिन्न भागमा बिक्री गरेका कार तथा मोटरसाइकल किन्न पुगेकाहरु आफ्नो लाखौं रुपैया डुबेपछि प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । श्रेष्ठविरुद्ध महाकाली अञ्चल यातायात कार्यालय भीमदत्तनगरले केही दिनअघि श्रेष्ठविरुद्ध सरकारी कागजात किर्ते गरी कार्यालयमा सवारीसाधन दर्ता गरेको भन्दै जालसाजीमा मुद्दा दायर गरेको थियो ।
प्रहरीले बिक्री पछि नियन्त्रणमा लिइएकामध्ये अधिकांश सवारीसाधन सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा विभिन्न मितिमा दर्ता भएकाहरु हुन् । “साढे चार लाखको मोटरसाइकल सक्कली कागजात देखाउँदै डेढ लाखमा बिक्री गर्न ल्याएपछि किनिहाले,” श्रेष्ठबाट केही महिनाअघि बुलेट मोटरसाइकल खरिद गरेका धनगढीका एक युवकले रासससँग भन्नुभयो “अभियुक्त श्रेष्ठ पक्राउ परेपछि मात्रै उनको अवैध काम थाहा पायौँ ।”
श्रेष्ठले बिक्री गरेका नौवटा कार÷जिप र २५ वटा मोटरसाइकल खरिद गरेका स्थानीयवासीहरू आफूहरू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसित गुहार माग्न पुगेको प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो ।
“केही व्यक्तिले त ठगीमा मुद्दा नै ल्याएका छन्,” प्रहरी निरीक्षक रोकायाले भन्नुभयो – “अहिले किर्तेमा अनुसन्धान हँुदैछ । त्यसपछि ठगीमा पनि हुन्छ ।”
श्रेष्ठबाट सवारीसाधन खरिद गर्नेमा प्रहरीका अधिकारी, यातायात कर्मचारी, अन्य सरकारी कर्मचारी र व्यापारी रहेका छन् ।
किर्ते कागजात गरी यातायात कर्मचारीसित मिलेमतो गरी किनबेच गर्दै आएका श्रेष्ठको अवैध काममा अन्य व्यक्तिको समेत संलग्नता रहेको बयान सुनेपछि प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको छ । अभियुक्त श्रेष्ठले विगत छ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारीसाधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गरेर उक्त अवैध धन्दा गर्दै आएका थिए ।
प्रहरीले श्रेष्ठबाट रु एक लाख, दुई थान ल्यापटप, एक दर्जन गाडीका ब्लुबुक, बैंकमा राजश्व दाखिला गरेको भौचरलगायतका सामग्रीहरू समेत बरामद गरेको थियो । सवारी साधन दर्ता गरी सक्कली बनाएर किनबेच गर्ने उक्त कार्यमा सेती र महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका केही कर्मचारी पनि संलग्न रहेको आशंका गरिएको छ ।
प्रतिक्रिया