बैतडी (गोठालापानी), साउन ३
नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन। १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि। देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो। कतिपय कुपोषणको सिकार भए। लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्यो। १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन। आजको अन्नपूर्णमा यो खबर प्रकाशित छ ।
१७ औं पटकमा बल्ल छोरा जन्मियो। परिवारमा खुसी छायो। अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन्। जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन। ‘मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ। म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र !’ देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उनको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ।
प्रतिक्रिया