२ मंसिर २०८१, आइतबार । November 17, 2024

मुख्य खबर

डोल्पाका प्रथम स्थानीय तह बजेट भाषण : २४ करोड बजेट



डोल्पा, ३० असार । डोल्पाका स्थानीय तहहरु मध्ये ठुली भेरी नगरपालिकाले २४ करोड बजेट सहित नीति कार्यक्रम प्रस्तुत भएको छ । यसै गरी काइके गाउंपालिकाले साढे १४ करोड बजेट प्रस्तुत गरेको छ ।
स्थानीय तहका बजेट अधिवेशन शुक्रवार विशेष कार्यक्रमका साथ सुरु उद्घाटन भएका छन् । जिल्ला समन्वय समिति डोल्पाको सभाकक्षमा शुक्रवार सुरु भएको ठुली भेरी नगरपालिको प्रथम नगर सभा वैठकमा उप्रमुख योगेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति तथा कार्यक्रम सहित २३ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेका छन् ।
जस मध्ये चालु खर्च तर्फ ३ करोड ७५ लाख र पुंजीगत तर्फ १९ करोड ९७ लाख ९० हजार छुट्याएका छन् । उनले नेपाल सरकारबाट प्राप्त हुने केन्द्रिय कार्यक्रम तथा बजेट, विषयगत कार्यालयबाट आउने कार्यक्रम तथा बजेट र गैह्र सरकारी संस्थामा आउने कार्यक्रम तथा बजेट नगर सभामा प्राप्त नभएको र यस पछि आएमा यसै नगर सभाले पास गरे सरह हुने उल्लेख गरेका थिए ।
शुक्रवारै सुरु भएको काइके गाउंपालिका शहरताराको बजेट अधिवेशनमा उक्त गाउंपालिकाका उपाअध्यक्ष कुन्जाङ बुढाको अनुमतिले वडा नं. २ का वडा अध्यक्ष राजकुमार रोकायाले नीति कार्यक्रम र साढे १४ करोडको बजेट प्रस्तुत गरेको काइके गाउंपालिकाबाट कार्यकारी अधिकृत कमलराज उपाध्यायले फोनबाट जानकारी दिए । उनका अनुसार पुंजिगत तर्फ ९ करोड २२ लाख ५८ हजार, चालु तर्फ २ करोड ५० लाख र ससर्त अनुदान तर्फ २ करोड ७३ लाख ७२ हजार गरी जम्मा १४ करोड ४६ लाख ३० हजार ८ सय ४९ विनियोजन गरेका छन् ।
नीति तथा कार्यक्रमले पहिलो प्राथमिकता मोटरबाटो र दोस्रो प्राथमिकतामा साना जलविधुतलाई लिएको छ । त्यसपछि अन्य गाउंगाउं तथा वडा वडाको आवश्यकता अनुसार कार्यक्रम तथा योजनाहरु राखेर बजेट विनियोजन गरिएको छ ।
यता ठुली भेरी नगरपालिका दुनैमा उपप्रमुख शाहीले यहांको हावापानी र माटो सुहाउदो मागमा आधारित विकास गतिविधि सञ्चालन गर्ने पहिलो योजना राखिएको छ भने दोस्रो प्राथमिकतामा मोटरबाटो निर्माणका साथै पूर्वाधार विकासका माध्यमबाट समृद्ध नगरपालिका बनाउने लक्ष्य राखिएको छ । हवाई उडानलाई पनि सुधार गरिने बताइएको छ ।
ठुलीभेरी नगरपालिकाको हावापानी र माटो अनुसारका फलफूल, सिमी, कृर्षी तथा अन्न बालीहरुको आधुनिकिकरण गर्दै व्यवसायिक खेति प्रणाली उन्मुख बनाउने, व्यवसायिक र उन्नत पशुपालनमा जोड दिई आयआर्जन वृद्धि गराई गरिबी निवारण तर्फ जोड दिने ।
लामो समयदेखि २ दिनमा २० घण्टा हुने लोडसेडिङ अन्तको लागि साना जलविधुत आयोजनाहरुलाई व्यवस्थित बनाउने, निर्माण गर्ने र विग्रेका आयोजनाहरुलाई यथाशिघ्र मर्मत गरी विधुत उत्पादनमा वृद्धि गरी लोडसेडिङ अन्त गर्ने । सञ्चारको विकास गरी संचार सुविधालाई घरघरमा पुर्याउने लगायतका विभिन्न २७ वटा नीति तथा कार्यक्रमहरु तय गरिएको घोषणा गरेका थिए ।
नीति कार्यक्रम र बजेटमा सर्वसाधारणहरुको मिश्रीत प्रतिक्रिया आएको छ । धेरैले बजेट सान्दर्भिक भनेका छन् । जिल्लामा स्थानीय तहको पहिलो बजेट भएकाले पनि आइडिया नभएकाले सिकाई भएको ठुली भेरी नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सुनारले बताए । उनले थपे धेरै मेहनतका साथ कार्यपालिकाले निर्माण गरी नीति कार्यक्रम तथा बजेट ल्याएको र शनिवार विहानैदेखि बजेट माथि छलफल गरी छिटै पास गर्ने रणनीति लिइएको छ ।
जिल्लाका अन्य ६ वटा स्थानीय तहको नीति कार्यक्रम तथा बजेट निर्माणमा नगरकार्यपालिका र गाउंकार्यपालिकाका बैठकहरु भइरहेका छन् । सबैभन्दा कठिन भनेको भौगोलिक कारण, यतिखेरै साल तमाम गर्नु पर्ने, गाउंपालिका र नगरपालिकामा बैंक नभएकाले भुक्तानी असुली यही सदरमुकामकै बैंकबाट गर्नु पर्ने, पहिलो पटक भएकाले विविध विषयमा अन्यौलता लगायतका कारण छिटो बजेट ल्याउने तयारी भैरहेको त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटकी उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन ।

प्रकाशित : ३० असार २०७४, शुक्रबार ००:००