काठमाडौँ, २९ असार । बूढानीलकण्ठ नगरपालिकाको प्रथम नगरसभा आजदेखि सुरु भएको छ ।
सभाको सांसद डा राजन भट्टराईले आज उद्घाटन गर्दै सरकारले स्थानीय तहलाई असाधारण अधिकार दिएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तह लोकतन्त्रलाई संस्थागत गर्ने निकाय भएकाले सर्वसाधारणलाई अपनत्व हुने गरी काम गर्नुपर्ने बताउँदै स्थानीय तह स्थानीय सरकार भएकाले स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका प्रमुख उद्धव खरेलले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बूढानीलकण्ठको विकास गर्न सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आव २०७४÷०७५ का लागि रु ७० करोड ९७ लाख ८६ हजार छ सय १० को बजेट प्रस्तुत गर्नुभयो । पूँजीगततर्फ रु ५४ करोड ९७ लाख ८६ हजार छ सय १० र चालुतर्फ रु १८ करोड बजेट प्रस्तुत गरिएको छ ।
प्रमुख खरेलले खानेपानी र भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । उहाँका अनुसार खानेपानी पूर्वाधार निर्माण र वितरणमा रु एक करोड ५० लाख, शैक्षिक सुधार र पूर्वाधार विकासमा रु एक करोड २५ लाख, फोहोर मैला व्यवस्थापनमा रु एक करोड, बालमैत्री बूढानीलकण्ठ निर्माणमा रु ५० लाख र नगरपालिका भवन निर्माण गर्न रु पाँच करोड बजेट प्रस्तुत गरिएको थियो ।
उहाँले शनिबार बजेट र नीति तथा कार्यक्रम बारेमा छलफल गरिने जानकारी गराउनुभयो । कार्यक्रममा उपप्रमुख रमा राईले बूढानीलकण्ठको विकास गर्न आफूहरु प्रतिबद्ध भएको बताउनुभएको थियो ।
प्रतिक्रिया