पोखरा, २७ असार । जनसरोकार मञ्च कास्कीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी एवम् दैवी प्रकोप उद्वार समितिका अध्यक्ष तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
मञ्चका अध्यक्ष नवीन सिग्देलको नेतृत्वको टोलीले कास्कीमा पहिरोको जोेखिममा रहेका स्थान पहिचान गरी सतर्कता अपनाउनतर्फ ध्यान दिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
जनसरोकार मञ्च कास्कीका तर्फबाट संयोजक नवीन सिग्देलले ज्ञापनपत्र बुझाउँदै बाढीपहिरो प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उद्धारका लागि सबै निकायलाई तयारी अवस्थामा राख्न तथा बाढीपहिरो प्रभावितका लागि सङ्कलित राहत एकद्वार प्रणालीबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाउन प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
कतिपय अवस्थामा बाढीपहिरोपछि गर्नुपर्ने व्यवस्थापकीय कार्य महत्वपूर्ण रहेको बताउँदै उहाँले कतिपय अवस्थामा सतर्कता अपनाउँदा पनि मानवीय तथा भौतिक क्षति कम गर्न सकिने उल्लेख गर्नुभयो ।
ज्ञापनपत्रमा विपत्को व्यवस्थापनका लागि नागरिक समाज, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै समयमा नै प्रभावकारी रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले दैवीप्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र अपनाउनुपर्ने सावधानीका विषयमा नागरिक समाजले चासो दिएकामा प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया