बनेपा, २४ असार । काभ्रेपलाञ्चोकको तीनवटा स्थानमा ग्रामीण प्रविधिको उपयोगले कृषकको जीवनस्तरमा सुधार भएको छ ।
बेथानचोक गाउँपालिकाको ढुङखर्कमा आज भएको स्थलगत निरीक्षणपछि ग्रामीण प्रविधि केन्द्रले धुलिखेलमा आयोजना गरेको वातावरणमैत्री गाउँ विकाससम्बन्धी कार्यक्रममा सरोकारवालाले वैकल्पिक प्रविधिको रुपमा ग्रामीण प्रविधिको उपयोगले विपन्न समुदायका कृषक लाभान्वित भएको बताए ।
ढुङखर्कका जीतबहादुर श्रेष्ठले गाँउमा विगतमा पुरानो प्रविधिले पिसानीको काम भएकामा अहिले पानीघट्ट सुधार कार्यक्रम लागू भएपिछ आधुनिक प्रविधिबाट मकै, कोदो फापरलगायत अन्नबाली पिसाउने काम भएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले गरिबी निवारणका लागि जीविकोपार्जनका कार्यक्रमले समुदायलाई फाइदा पुग्ने बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वातावरणमैत्री नवीकरणीय ऊर्जालाई स्थानीय तहले संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसलाई गाउँपालिकाको क्षेत्रमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुुभयो ।
ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशलाल श्रेष्ठले कार्यक्रम सञ्चालन भएको क्षेत्रमा सुधारिएको चुल्हो वितरण भएको र कार्वन न्यूनीकरणको प्रयास भएको बताउनुभयो ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष सरिता लामिछानेले चलालगणेशस्थानका कतिपय भेगमा सुधारिएको चुल्हो प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको बताउनुभयो ।
श्रीलङ्का, बङ्गलादेश, भारत र नेपालमा भएका कार्वन न्यूनीकरण एवम् विपन्न केन्द्रित दिगो वातावरणमैत्री गाउँ विकास कार्यक्रममध्ये नेपालमा सबैभन्दा प्रभावकारी भएको बताइएको छ । वातावरणमैत्री विकल्पअन्तर्गत ढुङखर्क बाहेक चलालगशेस्थान, च्याम्रेङबँेसीका गाउँमा नवीकरणीय ऊर्जा, जलवायु प्रतिरोधी कृषि प्रणाली, वन तथा वातावरण संरक्षण एवम् फोहोर व्यवस्थापनलगायत स्थानीय समुदायको जीविकोपर्जानसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा छन् । तीन वर्षसम्म सञ्चालन भएको विभिन्न कार्यक्रममा रु ६३ लाख खर्च भएको छ ।
प्रतिक्रिया