१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

मध्यनेपाल समृद्धिको प्रस्तावना सार्वजनिक



लमजुङ ९बेँसीसहर०, २२ असार । मध्य नेपाल नगर प्रमुख रमेशकुमार पाण्डेले समृद्ध मध्य नेपालका लागि तयार पार्नुभएको प्रस्तावना सार्वजनिक गर्नुभएको छ । दीर्घकालीन सोचका साथ तयार पारिएको प्रस्तावना एक कार्यक्रमका बीच बुधबार सार्वजनिक गर्नुभएको हो ।

मध्य नेपाल समृद्घिको आधार ः शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ नगर प्रमुख पाण्डेले तयार पार्नुभएको प्रस्तावनामा कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथमिकता दिनुभएको छ । उहाँले शिक्षाअन्तर्गत बाल शिक्षा, बुहारी शिक्षा र प्रौढ शिक्षालाई प्रभावकारी बनाउने उल्लेख गर्नुभएको छ ।

यस्तै कृषिअन्तर्गत ‘एक वडा एक विशेष उत्पादन’ लाई मुख्य प्राथमिकता दिने उहाँको कार्ययोजनामा उल्लेख छ । उहाँले हरेक घरमा व्यावसायिक कृषि प्रवद्र्धन गर्ने, हरेक घरका आमालाई कृषिबाट नै आम्दानी गर्नसक्ने बनाउनेलगायतका कार्यक्रम राखेको बताउनुभयो ।

यसैगरी पर्यटनअन्तर्गत ग्रामीण पर्यटन, धार्मिक पर्यटन, पर्यापयर्टनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय संस्कृति, समुदायको प्रवद्र्धन गरी विशेष समुदायलाई व्यावसायिक पर्यटन उद्योगतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

यसअघि हुँदै आएका विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिँदै अवश्यकताअनुसार सडक, भवन, स्वास्थ्यचौकीलगायतका भौतिक पूर्वाधारका कार्यक्रम पनि तय गरेको पाण्डेले बताउनुभयो ।

प्रस्तावना सार्वजनिक कार्यक्रममा उपप्रमुख राजकुमार श्रेष्ठ, कार्यकारी प्रमुख उपेन्द्रराज पौडेल, सबै वडाका अध्यक्ष र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००