भैरहवामा संचालनको तयारीमा रहेको मुलुकको एक मात्र विशेष आर्थिक क्षेत्र (स्पेसल ईकोनोमिक जोन, सेज) मा पछिल्लो पटक उद्योग स्थापनाका लागि निजी क्षेत्रबीच ठूलो प्रतिस्पर्धा देखिएको अधिकारीहरुले बताएका छन् ।
खासगरी व्यवस्थापिका संसदले गत महिना सेज संचालनको विधेयक पारित गरेपछि लगानीकर्ताहरुमा उत्साह देखिएको बताइन्छ।
प्रस्ताव
सेज संचालनकालागि तयार गरिएको कार्याविधिको आधारमा करिब छ महिना अगाडि उद्योग संचालनको लागि निजी क्षेत्रलाई आह्वान गर्दा अपेक्षा अनुसार लगानी जुट्ने अवस्था नदेखेर निराश जस्तै भएका विशेष आर्थिक क्षेत्र विकास समितिका अधिकारीहरु विधेयक पारित भएसंगै अहिले भने उत्साहित देखिएका छन्।
अहिले १५ दिनको समय राखेर दोस्रोपटक सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ र आएका प्रस्ताव माथि छिटै निर्णय गरिने बताइएको छ।
विशेष आर्थिक विकास समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार दोस्रो पटक आह्वान गरिएको प्रस्तावमा धेरै लगानीकर्ताको चासो देखिएको हुँदा अब छनौटमा प्रतिस्पर्धा हुने अवस्था आएको छ।
उनले भने, “बांकी ३० वटा प्लटका लागि १५ दिनको समय राखेर फेरी प्रस्ताव आह्वान गरेका छौं। आवेदन दर्ता गर्ने काम भइरहेको छ। बाँकी अवधिमा २० वटा भन्दा बढी प्रस्ताव आए छनोट गर्नुपर्ने हुन्छ।”
भैरहवाको सेजमा रहेका ६८ वटा प्लटमध्ये विभिन्न १४ उद्योगका लागि ३५ वटा प्लट वितरणको संझौता भइसकेको छ भने अब ३० वटा प्लटको लागि चाँडै संझौता गर्ने विशेष आर्थिक विकास समितिको तयारी छ।
कार्यकारी निर्देशक भट्टका अनुसार सेजमा अब बढीमा डेढ वर्षपछि करिब करिब एकै समयमा सबै उद्योगहरु संचालनमा आउनेछन्।
“हामीले उद्योग निर्माणको काम एक वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने भनेका छौं। अर्को ६ महिना हामी समय थप्छौं। कतिले ६ महिना भित्र सबै काम सकाउने वाचा पनि गरेका छन्।”
अहिले सेजमा विद्युतको लाइन विस्तार तथा पेट्रोल पम्प निर्माणको काम भइरहेको छ भने अरु पूर्वाधारहरु सबै तयार भइसकेका बताइएको छ।
बिबिसी नेपाली सेवाबाट
प्रतिक्रिया