१ चैत्र २०८१, शनिबार । March 15, 2025

मुख्य खबर

बारपाकमा गाउँघर क्लिनिकलाई जग्गादान



गोरखा, १७ साउन । गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा गाउँघर क्लिनिक भवन निर्माणका लागि स्थानीयवासी बेगबहादुर गुरुङले रु १० लाख बराबरको तीन आना क्षेत्रफलको जग्गा दान गर्नुभएको छ ।

वडाध्यक्ष रोशनकुमार लाम्गादे र बारपाक स्वास्थ्य चौकी प्रमुख अनिलकुमार साहको पहलमा केयर नेपालले निर्माण गर्न लागेको गाउँघर क्लिनिक निर्माणलाई जग्गा प्राप्त भएको हो ।

जग्गाधनीले हालका लागि जग्गा भोगचलन गर्न पाउने अधिकारसहित लिखित मञ्जुरीनामा दिएको र केही समयपछि मालपोतबाट पास गरेरै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको साहले बताउनुभयो ।

गाउँघर क्लिनिक निर्माणका लागि लामो समयदेखि जग्गाको खोजी भइरहेको थियो । सोमबार बारपाकमा बसेको बैठकमा जग्गाधनी बेगबहादुरले जग्गा दान दिने बताएपछि जग्गा प्राप्त भएको उहाँको भनाइ छ ।

भूकम्पको केन्द्र गोरखामा केयर नेपालले घरघरै खानेपानी पु¥याउने योजनासहित रु तीन करोडमा खानेपानी आयोजना निर्माण गरिरहेको छ भने स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा पनि कार्यक्रम गर्दै भूकम्प प्रभावितलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलबार ००:००