फलेवास (पर्वत), १८ असार । महाशीला गाउँपालिका–१ मा आइतबार बिहान गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
साबिकको होस्राङ्दी गाविस–१ बारकुनाका ६३ वर्षीय तीर्थबहादुर मल्ल ठकुरीको घर पहिरोले बगाएको हो । घर बगाउँदा ठकुरीसहित उनकी ८० वर्षीया आमा बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारीको ज्यान गएको हो ।
गाउँमा जाने कच्ची सडक निर्माणका कारण माथिबाट आएको ठूलो भेलसँगै भिरालो खेतबाट पहिरो जाँदा बस्तीमा पसेको हो । धेरै ठाउँको भेल सडक हुँदै घरभन्दा माथिको खेतमा पसेपछि पहिरो गएको महाशिला–१ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
घटनास्थलमै मृत्यु भएका तीनैजनाको शव परीक्षणका लागि स्याङ्जाको वालिङ लगिएको छ । मृतक तीर्थबहादुरका छोरा राजेश मल्ल ठकुरी भारतीय सेनामा कार्यरत छन् भने बुहारी बुटबलमा बस्दै आएकी छिन् ।
पहिरोले ठकुरीको घर र गोठसमेत पुरेको छ । पहिरोका कारण ठकुरीका झण्डै एक दर्जन पशुचौपायासमेत मरेका छन् ।
पहिरोले स्थानीय चन्द्रबहादुर राना, चन्द्रकुमार रानालगायतका पाँच घर जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्न प्रयास भइरहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा विगत केही दिनयता विद्युत् सेवासमेत अवरुद्ध बनेका कारण सिधा सम्पर्कमा समेत कठिनाई उत्पन्न भएको छ ।
प्रतिक्रिया