अफगानिस्तान, १८ असार । तालीवानीहरुको आक्रमणमा परी अफगानिस्तानको उत्तरी बल्ख प्रदेशमा सरकार समर्थक १३ जना लडाकु मारिएका छन् ।
तालिबानहरुको विद्युतीय धरापमा परी उनीहरु मारिएको प्रदेश सरकारका प्रवक्ताले आइतबार जानकारी दिनुभएको छ ।
“तालिबान बन्दुकधारीहरुले शनिबार अबेर चिम्ताल जिल्लाको दुर्गम गाँउ मस्जेड इ सफाडमा सरकार समर्थक लडाकूहरुलाई आक्रमण गरेका र उनीहरुको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ,” प्रवक्ता फर्हाद मुनिरले सिन्ह्वा समाचार समितिसँग भन्नुभयो ।
यस आक्रमणको तालिबान लडाकूहरुले जिम्मेबारी लिएका छन् ।
त्यसैगरी अर्काे एक समाचारअनुसार अफगानिस्तानकै उत्तरी क्षेत्रमा पर्ने जावजान प्रान्तमा तालिबान लडाकूप्रति केही नरम रहेको भनिएको इस्लामिक स्टेटले तालिबान समूहका १० जना लडाकूको शिर छेदन गरिदिएको छ ।
स्थानीय डेलि विसा नामक पत्रिकाले आइतबार प्रकाशन गरे अनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाँउलाई बुधबार नियन्त्रणमा लिएर १० जना तालिबान लडाकूलाई अपहरण गरेका थिए ।
उनीहरुको शुक्रबार शिर छेदन गरेर हत्या गरिएको सो समाचारमा जनाइएको छ ।
डार्जाब जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र आइएस लडाकूहरुका बीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको छ । यो घटनाका बारेमा अहिले सम्म तालिबान र आइएस समूहले केही बताएका छैनन् ।
अफगानिस्तानको उक्त भूभाग आफ्नो नियन्त्रणमा लिन विगत दुई बर्षदेखि तालिबान समूह र आइएस समूहले सङ्घर्ष गर्दै आएका छन् ।
प्रतिक्रिया