जाजरकोट, १७ असार । काठको खोरमा बाख्रा होइन बालकलाई थुन्ने गरेको खबर सुन्दा सबैलाई अनौठो लाग्न सक्छ ।
बारेकोट–४ जिरीका कालीबहादुर रावतले मानसिक सन्तुलन गुमाएका १२ वर्षीय छोरा भीमराज रावतलाई चार वर्षदेखि घर छेउमा रहेको खोरमा थुन्ने गरेका छन् । उनले रहरले भने छोरा भीमराजलाई बाख्राको खोरमा थुनेका होइनन् । उनी जता पायो त्यतै जाने र जे पायो त्यही गर्न थालेपछि खोरमा थुन्नुपरेको रावतले बताए । उनी दैनिक १२ घन्टा त्यही खोरमा हुन्छन् ।
चार वर्षअघिदेखि बर्बराउने, कहिले रिसाउने तथा हाँस्ने त कहिले डराउनेलगायतका व्यवहार प्रदर्शन गर्दै आएका उनले बोलचालसमेत गर्न छाडेका छन् । छोरा मान्छेमा हुनुपर्ने सामान्य संवेदनासमेत बालकमा नभएको बताइन्छ । सात र आठ वर्षको हुँदा बोल्ने, सबै कुरा थाहा पाउने, कामकाज गर्ने, पढ्न जानेलगायत व्यवहार देखाउने छोराले एक्कासि मानसिक सन्तुलन गुमाएको उनको भनाइ छ । आमा तुलसाले भनिन् – “जे पायो त्यही गर्छ । खाना कहिले खान्छ त कहिले खाँदैन, सफा, फोहर भन्ने पनि थाहा पाउँदैन । खोरमा थुनेरै खाना खुवाउनुपर्छ । खुला राखे कतै हाम फालेर मर्ला कि भन्ने डर लाग्छ ।”
नौ वर्षको उमेर नपुग्दै उनमा अकस्मात् यस्तो समस्या आएको हो । मानसिक सन्तुलन गुमाएका छोराको उपचारका लागि धामीझाँक्री, जडीबुटीदेखि काठमाडौँका अस्पताल चाहार्न बाध्य भएको उनले बताइन् । परिवारको जेठो सन्तान नै यस्तो भएपछि कालीबहादुर रावत र तुलसा रावत चिन्तित छन् ।
ऋण सापट गरेको पैसाका भरमा छोराको उपचारका लागि विभिन्न अस्पतालमा पुगे पनि ती अस्पतालले छोराको रोग नै पत्ता लगाउन नसकेको कालीबहादुरले बताए । घरजग्गा बिक्री गरेर छोराको उपचारमा यो दम्पतीले रु दुई लाखभन्दा बढी खर्च गरिसकेका छन् । “सन्चो होला कि भन्ने आशमा सम्पत्ति पनि सकियो”, कालीबहादुरले भने – “यतिबेला गुजारा चलाउन कठिन भएको छ ।
प्रतिक्रिया