३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

Uncategorized

नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं २६, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ११ बजे बस्दै छ। यसअघि बैठक चार पटक स्थगित भइसकेको छ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र चुलिएको विवाद समाधानको बिन्दू खोजीका लागि ‘वान टु वान’ छलफल गराउन भन्दै पटक–पटक स्थायी कमिटी बैठक स्थगित गरिँदै आएको थियो।

यसअघिको स्थायी कमिटी बैठकहरूमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको राजीनामा मागिँदै आएको छ।

राजीनामा माग्नेमा पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम पनि छन्। अध्यक्ष प्रचण्डसहित यी शीर्ष नेताहरूले सचिवालय बैठकमा पनि ओलीको राजीनामा मागेका थिए।

ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको राजीनामा माग्ने पक्षले आरोप लगाउँदै आएका छन्। आजको बैठकमा पनि राजीनामाको सवाल उठ्ने देखिएको छ।

प्रचण्ड पक्षका एक जना स्थायी कमिटी सदस्यले भने आजको बैठकमा ओलीको ‘राजीनामा’ प्रस्तावमाथि छलफल हुने बताए।

दुई अध्यक्ष ओली–प्रचण्डबीच चार दिन वान टु वान छलफल भएपनि दुबै पदबाट ओलीले राजीनामा नदिने अडान कसिरहेपछि आजको बैठकले राजीनामाबारे छिनोफानो गर्ने ती सदस्यले बताए।

यदी, ओलीलाई स्थायी कमिटीको बैठकमा बहुमतले हटाए नेकपा भित्रको विवाद पार्टी विभाजनतर्फ जान सक्ने अड्कल गर्न थालिएको छ।

तर, स्थायी कमिटीको निर्णय भने केन्द्रीय कमिटीले अनुमोदन गर्नु पर्ने प्रावधान छ। त्यहाँ ओली र प्रचण्ड–नेपाल दुबै पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन्।

नेकपाभित्रको विवाद असार १६ गते तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६९ औं जन्मोसत्वबाट झनै चर्किएको हो।

त्यहाँ अध्यक्ष ओलीले आफूलाई पदबाट भारतले हटाउन खोजेको र पार्टीकै नेताहरू ‘एजेन्ट’ बनेको बताएका थिए।

त्यसपछि चर्किएको विवादकाबीच ओलीले १८ गते संसदको वर्षे अधिवेशन अन्त्य गरिदिए। यी दुई परिघटनापछि नेकपा विवाद उत्कर्षमा पुगको हो।

पार्टीका दोस्रो तहका नेताहरूले शीर्ष नेताहरूलाई पार्टी विभाजनतर्फ नलैजान बारम्बार खबरदारी गर्दै आएका छन्।

पछिल्लो केही दिन यता राजीनामा माग्ने पक्षले प्रधानमन्त्री पदबाट मात्रै भएपनि राजीनामा दिनु पर्ने बताएका आएका छन्।

तर, ओलीले राजीनामा नदिने र स्थायी कमिटी बैठकको बहुमतले हटाउन बुधबार चुनौति दिएका छन्।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००