३० आश्विन २०८१, बुधबार । October 16, 2024

पर्यटन

यातायात अवरुद्ध भएपछि तीर्थालु हेलिकप्टरबाटै मानसरोबर कैलाश जान थाले




रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलगत रूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन् ।

 मानसरोवर यात्राका लागि बुधबार ५५ गैरआवासीय नेपाली बोकी काठमाडाँैबाट रसुवागढीका लागि हिँडेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रुलाई सिम्रिक एयरको हेलिकप्टरद्वारा बिहीबार स्याफ्रुबेँशी लगिएको काठमाडाँै हेलिडे टूल्स एण्ड ट्राभल ठमेलका पथ प्रदर्शक कुन्दन क्षेत्रीले बताएका छन् । हेर्नुहोस फोटोफिचर  

बुधबार अपराह्नको अविरल वर्षाका कारण कालिका गाउँपालिका–१ राम्चे, ग्राङबीच भीरको नजिक पहिरोले राजमार्ग क्षति बनाएपछि चिनियाँ भूभागमा अवस्थित मानसरोवर कैलाश हिँडेका ती गैरआवासीय नेपाली यात्रुलाई नुवाकोटको बटारमा फर्काई हवाईमार्ग प्रयोग थियो ।

राजमार्ग अवरूद्ध भई अलपत्र परेका यात्रुलाई कार्यतालिका अनुरूप गन्तव्यतर्फ पठाउन सिम्रिक एयर कम्पनीले छिटोछरितो तवरले हेलिकप्टर उपलब्ध गराई उल्लेखनीय सहयोग गरेको उक्त ट्राभलले जनाएको छ । ती गैरआवासीय नेपाली तीर्थयात्रुलाई नुवाकोटबाट स्याफ्रुबेँशी पु¥याउन सिम्रिक एयरले दुई वटा हेलिकप्टर प्रयोग गरेको र वरिष्ठ पाइलट सुरेन्द्र पौडेल र युवा पाइलट हरेराम थापाले उडान भरेका थिए ।

हेलिकप्टरबाट लगिएका ती गैरआवासीय नेपाली यात्रु बिहीबार नै रसुवागढी नाकाबाट चिनियाँ भूभागमा प्रवेश गरिसकेको र उनीहरू ११ दिनको अन्तरालमा मानसरोवर कैलाशको यात्रा पूरा गरी काठमाडाँै पुग्ने पथ प्रदर्शक क्षेत्रीले बताए ।

सरासर लाँदा कैलाश पर्वत क्षेत्रमा लेक लाग्न सक्ने समस्या न्यूनीकरण गर्न सबै यात्रुलाई ठाउँठाउँमा बास बसाली आरामदायी यात्रा गराइने जनाइएको छ । यात्राका क्रममा स्याफ्रुबेँशी, टिमुरे र चिनियाँ भूभागको केरूङ एवं साझा भन्ने स्थानमा बास बसालेपछि चार हजार ८०० मिटर उचाइको मानसरोवर पु¥याउने गरेको पथ प्रदर्र्शकले बताएका छन् ।

चीनको भूभागमा अवस्थित मानसरोवर कैलाश यात्राका लागि हुम्लाबाट जान हिल्सासम्म हवाईमार्ग प्रयोग गर्नुपर्ने र रसुवागढी नाका प्रयोग गर्दा पूरै स्थलगतरूपमा जान सकिने भएकोले विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ ।

अध्यागमन प्रमुख विष्णु घर्तीका अनुसार विसं २०७६ वैशाखदेखि हालसम्म १४ हजार ५०० तीर्थयात्रुले मानसरोवर कैलाश यात्रा सम्पन्न गरिसकेका छन् । अब उच्च भागमा हिमपातको मौसम शुरू हुने बेला भएकाले मानसरोवर जाने मौसम अन्तिम हुन थालेको बताइएको छ । मानसरोवर कैलाश यात्राका लागि बढी मात्रामा भारतीय तीर्थयात्रु जाने गरेको अध्यागमन कार्यालयले जनाएको छ । मान सरोवर प्राकृतिक सुन्दरताको अनुपम उपहार हो भन्ने कुरा यो फोटो फिचरले नि स्पष्ट गराउँछ । तस्वीर मानसरोवर फेसवुक पेजबाट लिइएको हो ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार ००:००