![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/201909071537562361921.jpg?resize=720%2C488)
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोटमा पहिलो जित दर्ता गराएको । शनिबार राति भएको खेलमा पोर्चुगलले सर्बियालाई उसकै मैदानमा ४–२ ले पराजित गर्दै युरो छनोटमा पहिलो जित निकालेको हो ।
यसअघि पोर्चुगलले शुरुवाती दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा १–० को अग्रत दिलाएका थिए । ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फनान्डेजको पासमा गोल गरेका थिए ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/Portugal-Win-1-1024x794.jpg?resize=720%2C558)
६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ८०औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।
८५औं मिनेटमा अलेक्जान्डर मिट्रोभिकले गोल गर्दै सर्बियायालाई ३–२ को अवस्थामा ल्याए । त्यसको १ मिनेट पछि नै बर्नाडो सिल्भाले राफायल गुइरेरोको पासमा गोल गर्दै पोर्चुगललाई ४–२ को जित दिलाए ।
जितसँगै पोर्चुगलले समूह ‘बी’ मा ३ खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । सर्र्बिया ४ अंक जोडेर चौथो स्थानमा छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया