११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

समाचार

१ नम्बर प्रदेशको नाम किरात रहने पक्का



काठमाडौं । नेपालको १ नम्बर प्रदेशको नाम किरात रहने लगभग पक्का भएको छ । प्रदेश संसद सचिवालयले आज विहिबारसम्म नाम र स्थायी राजधानीको लागि प्रस्ताव दर्ताको मिति तोकेको थियो । प्रस्ताव दर्ताको लागि मिति तोकिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैशाख १७ गते संसदीय दलको बैठक बसेको थियो । बैठकमा स्थायी राजधानी बारे एक मत हुन सकेन । नामको सन्दर्भमा सत्ता पक्षको प्रस्ताव हेरेर अघि बढ्नै रणनीति बनेपनि बैठकमा किरात कोशी वा सगरमाथा राख्नु पर्ने छलफल चलेको एक सांसदले बताए । दलले किरात जोडेर नाम प्रस्ताव गर्न नमाने आफै किरात प्रदेशको लागि प्रस्ताव दर्ता गराउने ती सांसदले बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बैशाख १८ गतेको संसदीय दलको बैठक स्थागित भएको थियो । पार्टीको शीर्ष नेताहरुवीच नै कुरा नमिलेपछि दलको बैठक स्थागित भएको थियो । १९ गते राखिएको दलको बैठकमा किरात वा किरात कोशीको पक्षमा बहुमत सांसद रहेको बताइएको छ । नेकपा संसदीय दलको नेता टंक लिम्बू, रामकुमार राई(पासाङ), राजेन्द्रकुमार राई, मोहन खड्का, उमिता विक लगायतका सांसदहरु खुलेरै किरात प्रदेशको अभियानमा लागिरहको बुझिएको छ । दुई तिहाइ मत रहेको नेकपा भित्र कुरा नमिलेपछि संसद सचिवालयले २२ गतेसम्म संसद बैठक सारेको सूचना प्रकाशन भएको छ । नेकपा भित्र स्थायी राजधानीमा विवाद देखिएको छ । ३७ जना सांसदले स्थायी राजधानी इटहरी राखिनुपर्ने भन्दै हस्ताक्षर संकलन गरेको छ । सोही टिमले किरात सगरमाथा नाम राख्न माग गरेको बुझिएको छ । संघीय समाजवादी फोरमका जयराम यादव पनि किरातको पक्षमा रहेको बुझिएको छ । संघीय लोकतान्त्रिक मञ्चको एक मात्र सांसद विष्णु तुम्बाहाम्फे लिम्बूले लिम्बुवान किरात वा किरात लिम्बूवान हुनु पर्ने जनाउदै आएकी छन् । कुमार लिङ्देन (मिराक)ले नेतृत्व गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पछिल्लो समयमा प्रदेशको नाम ‘लिम्बुवान र किरात खम्बुवान’हुनुपर्ने बताउदै आएको छ । राई समुदायको साझा संस्था किरात राई यायोक्खा निरन्तर रुपमा प्रदेशको नाम किरात राख्न डेढ दशक अघिदेखि अभियानहरु सञ्चालन गर्दै आएको छ । केन्द्रदेखि प्रदेशसम्म किरात एउटा जाति नभएर इतिहास, भूगोल र सभ्यता भएको तर्क सहित नाम किरात राख्नुपर्ने बताउदै आएको छ । पूर्व माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा, पूर्व एमाले सम्बद्ध किरात राई लोकतान्त्रिक संघ लगायतका संगठनहरु किरात प्रदेशको लागि लाग्दै आएका छन् । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ, पूर्व माओवादी सम्बद्ध लिम्बुवान मुक्ति मोर्चा, पूर्व एमाले सम्बद्ध लोकतान्त्रिक लिम्बू संघ लगायतको सात संगठनले किरात लिम्बुवान बनाउन संयुक्त विज्ञप्ति जारी गरेको छ । प्रदेश सभामा रहेका केही सांसद बाहेक किरात, किरात कोशी, किरात सगरमाथा वा किरात लिम्बुवानको पक्षमा देखिएका छन् । संसद भित्र र बाहिर रहेका राजनीतिक शक्ति वा सामाजिक संघ/संस्थाले प्रदेशको नाममा किरात शब्द नछुटाएकोले १ नम्बर प्रदेश किरात प्रदेश बन्ने लगभग पक्का भएको किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको भनाइ छ ।

प्रकाशित : १९ बैशाख २०७६, बिहिबार ००:००