९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

उत्कृष्ट विद्यार्थी सम्मानित



भक्तपुर, ३१ साउन । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सिरु बौद्धिक समाजले तत्कालीन सिरुटार गाविस (हाल वडा नंं १) क्षेत्रभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ ।

सांसद केदारप्रसाद सञ्जेलले स्थानीय २१ विद्यार्थीलाई सम्मानपत्रका साथै सिरु इन्टरनेशनल अवार्ड–२०७३ प्रदान गरी सम्मान गर्नुभएको होे । कार्यक्रममा उत्कृष्ट तीन विद्यार्थी ३.८५ जिपिए ल्याउने मेरिगोल्ड इङ्लिस सेकेण्डरी स्कुल, बालकोटकी छात्रा सृष्टी श्रेष्ठ ‘सिरुटार उत्कृष्ट विद्यार्थी’ घोषित भइन भने ३.८० जिपिए ल्याउने क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्रेजिका श्रेष्ठ र माउन्टभ्यू सेकेण्डरी स्कुल, बालकोटका विकेश श्रेष्ठ उत्कृष्ट विद्यार्थी घोषित भएका थिए

सांसद सञ्जेलले देश विपद्को संकटमा परेको वर्तमान अवस्थामा बाढी पहिरोपीडितका लागि सहयोग जुटाउन सबै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष धु्रवराज विष्टले सिरु बौद्धिक समाजले बाढी पहिरोपीडितका लागि सहयोग जुटाउन पहल गर्ने बताउनुभयो । उहाँले एसइइ उत्तीर्ण विद्यार्थीले उच्च शिक्षापछि स्वदेश मै रहेर देशको सेवा गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सूर्यविनायक नगरपालिका–१ का अध्यक्ष सानुकाजी कायस्थ, महिला सदस्य अम्बिका न्यौपाने, सल्लाहकार संयोजक डा बालचन्द्र मिश्र, दलित महिला सदस्य कल्पना नेपाली, पूर्व गाविस अध्यक्ष शशीजंग थापा, उपाध्यक्ष मदनबहादुर थापा, समाजका सचिव सनोदकुमार थापा, उपाध्यक्ष रमण कायस्थ, क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्राचार्य धर्मप्रसाद कँडेल, चरखण्डी तीर्थस्थल क्षेत्र विकास तथा संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापालगायतले सिरुटारलाई बौद्धिक नमूना बस्तीका रुपमा विकास गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००